काठमाण्डौ –छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौं स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतना मूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हाल सम्मको सिकाइ लगायत विषयलाई समेटेर कार्यशाला गोष्ठी आयोजना गरेको छ कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि विज्ञले टिप्पणी गर्नुहुने कार्यक्रम रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो । २०७२ साल वैशाख १२ गते शनिवार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
त्यस भूकम्पले आठ हजार ९७९ जनाको निधन भएको थियो भने २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पले झण्डै १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, ५४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो । यसैगरी ४१५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका १७० सम्पदा सहित ९२० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३८३ भवनमा क्षति पुगेको थियो । तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र २९९ मानव बस्तीमा क्षति पुगेको तथ्याङ्क प्राधिकरणसँग छ ।
गोरखा भूकम्पले ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाण्डौ, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो । यसैगरी सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए । गोरखा भूकम्पले भत्किएका झण्डै १० लाख घरमध्ये छ लाख ३८ हजार ५४० घर पुनःनिर्माण भएका छन् । छ वर्षअघिको भूकम्पले भत्किएर आठ लाख ११ हजार ७५४ घरधनीले पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको लाभग्राही सूचीमा समावेश भएर सम्झौता गरेका छन् ।
अहिले सम्म आठ लाख १० हजार ६३५ लाभग्राहीले पहिलो किस्ताको ५० हजार रुपैयाँ बुझेका छन् । सात लाख चार हजार ४६७ लाभग्राहीले दोस्रो किस्ता बापत एक लाख रुपैयाँ लिएका छन् । घर सम्पन्न गरेर छ लाख ३८ हजार ५४० लाभग्राहीले तेस्रो किस्ताको एक लाख ५० हजार रुपैयाँ लिएका छन् । चालु आर्थिक वर्षभित्र निजी आवास पुनःनिर्माणका मुलभूत काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ । निजी आवास पुनःनिर्माणका क्रममा छ लाख ३४ हजार ९७३ गुनासा आएकामा ती सबैको सम्बोधन गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरण बाट भएको गुनासो सुनुवाइमा पनि चित्त नबुझेमा जिल्ला तहमै पुनरावेदन दर्ता गरी पुनरावेदन समिति मार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाइएको छ ।
जोखिम एवं विपन्न वर्गका लाभग्राहीको घर पुनःनिर्माणमा प्राधिकरणले झण्डै ९०० घुम्ती डकर्मी र २५४ सामाजिक परिचालक परिचालन सहित विशेष अभियान अघि बढाएको छ । साझेदार संस्था लाई पनि यस कार्यमा परिचालन गरिएको छ । व्यापक अभियानका साथ जोखिम वर्गका लाभग्राहीको घर पुनःनिर्माण भइरहेको जनाइएको छ । भूकम्प पछि २९९ वटा असुरक्षित ठाउँमा रहेका चार हजार ७२० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको छ । बाह्र हजार ७८८ भूमिहीन लाभग्राही लाई जग्गा व्यवस्थापन सहित घर निर्माण गर्ने वातावरण सिर्जना गरिएको छ ।
क्षतिग्रस्त ९२० सम्पदामध्ये ४९३ पुनःनिर्माण सम्पन्न भएको छ । २८८ सम्पदा पुनःनिर्माण भइरहेका छन् । राष्ट्रको मुख्य प्रशासनिक भवन, सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भाग प्रवलीकरण भएर गएको फागुन ३ गते उद्घाटन भएको छ । फागुनदेखि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको मूल भवन बाट नै सञ्चालन सुरु भएको छ । केशर महल, बबरमहल, बालमन्दिर, नारायणहिटी सङ्ग्रहालय क्षेत्रमा रहेको रणोद्दीप दरबार लगायतका पुरातात्विक महत्वका दरबारको जीर्णोद्धार जारी छ ।
भूकम्पले क्षति भएर मर्मत गर्नुपर्ने ४०२ गुम्बा मध्ये २९४ वटा सम्पन्न भएका छन् । पुनःनिर्माण गर्नुपर्ने ८९५ मध्ये १०० वर्षभन्दा पुराना र दुई हजार वर्ग फिटभन्दा बढी ‘प्लिन्थ एरिया’ भएका २६४ वटा गुम्बा मध्ये ३६ वटा र १०० वर्षभन्दा कम र दुई हजार वर्ग फिटभन्दा मुनिका ६३१ गुम्बा मध्ये १०१ को पुनःनिर्माण अघि बढेको छ । भूकम्प बाट क्षतिग्रस्त कुल सात हजार ५५३ विद्यालय मध्ये ८३ प्रतिशत विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ ।
अहिले बाँकी १७ प्रतिशत विद्यालय पुनःनिर्माण भइरहेको छ । विद्यालयको पुनःनिर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । भूकम्पले क्षतिग्रस्त कुल एक हजार १९७ स्वास्थ्य संस्था मध्ये ६९८ को पुनःनिर्माण सम्पन्न भएको छ । २९६ स्वास्थ्य संस्थाको पुनःनिर्माण जारी छ । क्षति पुगेका कुल ४१५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ ।
प्राधिकरण अन्तर्गत निर्माण भइरहेका सुरक्षा निकायका २१६ वटा संरचना मध्ये २१४ को पुनःनिर्माण सम्पन्न भइसकेको छ । भूकम्प प्रभावित विभिन्न जिल्लामा भूकम्पले असर गरेका ७६२ किमी सडक पुनःनिर्माण गर्नुपर्नेमा ५२५ किमी सडक बनेको छ । बाँकी सडकको पुनःनिर्माण यसै आवभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ