नवलपुर–१ निर्वाचन क्षेत्र बाट प्रतिनिधिसभा सदस्यमा राजन गौतम ५०,९४५ मत र ३४६५२ मतान्तर सहित विजयी भएका छन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गौतमले प्राप्त गरेको मत र मतान्तरलाई गण्डकी प्रदेश कै ऐतिहासिक परिणामका रूपमा हेरिएको छ। यो जितले नवलपुर–१ को राजनीतिमा ठूलो परिवर्तन ल्याएको विश्लेषण गरिएको छ। २०४८ सालदेखि निरन्तर कायम रहेको नेपाली कांग्रेस को राजनीतिक विरासत यस पटक तोडिएको छ।
लामो समयदेखि परम्परागत दलको प्रभाव रहेको यस क्षेत्रमा नयाँ राजनीतिक शक्तिका उम्मेदवार गौतमले उल्लेखनीय मतान्तरसहित विजय हासिल गरेका हुन्। सामान्य सुकुम्बासी परिवारमा जन्मिएका गौतमलाई उनका बुवा–आमाले चिया पसल सञ्चालन गरेर पढाएका थिए। आर्थिक कठिनाइका बीच पनि उनले अध्ययनमा उत्कृष्टता हासिल गर्दै विद्यालय जीवनभर प्रायः सधैँ कक्षामा प्रथम हुने विद्यार्थीका रूपमा परिचय बनाएका थिए। उनले प्राथमिक शिक्षा ध्रुबज्योति प्रावि बाट पूरा गरेका थिए भने कक्षा १२ सम्मको अध्ययन देवचुली माध्यमिक विद्यालय बाट प्रथम भएर उत्तीर्ण गरेका थिए।
उच्च शिक्षामा उनले शिक्षा शास्त्र, व्यवस्थापन शास्त्र र राजनीतिशास्त्र विषयमा स्नातकोत्तर पूरा गरेका छन् र हाल विद्यावारिधि (PhD) अध्ययनरत छन्। शिक्षाक्षेत्रमा पनि उनले कम उमेरमै ठूलो जिम्मेवारी सम्हालेका थिए। २०७१ सालमै २८ वर्षको उमेरमा उनी देवचुली कलेज रजहर का क्याम्पस प्रमुख बनेका थिए। उनको योगदानको कदर गर्दै २०७८ सालमा नेपाल सरकार ले उनलाई “उत्कृष्ट युवा प्रतिभा सम्मान” प्रदान गरेको थियो।
यस पटकको निर्वाचनमा प्राप्त ५० हजारभन्दा बढी मत र उल्लेखनीय मतान्तरले गौतमलाई गण्डकी प्रदेशकै चर्चित चुनावी परिणाममध्ये एक बनाएको छ। विश्लेषकहरूका अनुसार यो परिणामले नयाँ नेतृत्वप्रति जनताको विश्वास र परिवर्तनको चाहना स्पष्ट रूपमा देखाएको छ। नवलपुर–१ मा हासिल भएको यो जितसँगै नवलपुर जिल्ला को राजनीतिमा नयाँ अध्याय सुरु भएको मानिएको छ, जहाँ संघर्षबाट उठेका युवा नेतृत्वले परम्परागत राजनीतिक समीकरणलाई चुनौती दिएका छन्।