नवलपरासी (ब.सु.पूर्व), २०८१ असार १९ – त्रिभुवनटारस्थित जनता माध्यमिक विद्यालयका छात्राहरूमाथि विद्यालयकै अगाडि किराना तथा पुस्तक पसल सञ्चालन गर्दै आएका व्यक्तिबाट वर्षौंदेखि यौन दुर्व्यवहार हुँदै आएको खुलासा भएपछि नेपाल विद्यार्थी संघ, कावासोती नगर कार्यसमितिले तीव्र विरोध जनाएको छ।
नेपाल विद्यार्थी संघ कावासोती नगर कार्यसमितिका सभापति कुमार क्षेत्रीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सो घटनालाई "दुर्भाग्यपूर्ण, निन्दनीय र गम्भीर" भन्दै कडा शब्दमा भर्त्सना गरिएको छ। घटनाको खुलासा एक छात्राको साहसी कदमपछि सार्वजनिक भएको जनाइएको छ। संघले यो विषय सम्पूर्ण विद्यालय, बालबालिका तथा समाजकै सुरक्षासँग जोडिएको गम्भीर मुद्दा भएको भन्दै दोषीलाई तुरुन्त कानुनी कारवाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।
विज्ञप्तिमा नेपाल विद्यार्थी संघ कावासाेतीले विद्यालय वरपरको वातावरण सुरक्षित बनाउन, पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउन तथा यस्ता आपराधिक मानसिकता र सामाजिक विकृति अन्त्य गर्न राज्य र समाजले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ।