कावासोती, नवलपुर । विश्व मानसिक स्वास्थ्य दिवस २०२५ को अवसरमा नगर युवा सञ्जाल कावासोती र मध्यबिन्दु बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा मानसिक स्वास्थ्य अभिमुखीकरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता नगर युवा सञ्जाल कावासोतीका अध्यक्ष श्री पवन भुर्तेलले गर्नुभएको थियो। कार्यक्रममा कावासोती नगरपालिका वडा नं. ३ का वडाध्यक्ष डोरमान गिरी प्रमुख अतिथि, मध्यबिन्दु बहुमुखी क्याम्पसका प्रमुख श्री गणेशमान गिरी विशेष अतिथि तथा मुख्य प्रशिक्षक श्रीमती विमला श्रेष्ठले मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण सत्र सञ्चालन गर्नुभएको थियो। सो कार्यक्रम जागृति बाल तथा युवा सरोकार नेपाल (Jagriti Child and Youth Concern Nepal - JCYCN)र सामुदायिक सेवा केन्द्रको सहकार्यमा सम्पन्न गरिएको हो। कार्यक्रममा नगर युवा सञ्जालकी सह–सचिव बिनिता पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो।
त्यसैगरी अभियन्ता तथा क्याम्पसका विद्यार्थी आयुष ढकाल र स्ववियूका कोषाध्यक्षले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। क्याम्पस प्रमुख गणेशमान गिरी र प्रमुख अतिथि वडाध्यक्षले पनि आजको अवसर र मानसिक स्वास्थ्यको महत्वबारे प्रेरणादायी विचार व्यक्त गर्नुभएको थियो। सोही क्रममा समुदायक सेवा केन्द्रका प्रतिनिधिद्वारा आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सत्र समेत सञ्चालन गरिएको थियो, जसले युवाहरूमा आत्ममूल्य र जीवनप्रतिको सकारात्मक दृष्टिकोण अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य, आत्मसंवाद, सहानुभूति, र समुदायमा सहयोगी वातावरण निर्माणबारे व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
अन्त्यमा, नगर युवा सञ्जालका अध्यक्ष श्री पवन भुर्तेलले आजको कार्यक्रम मानसिक स्वास्थ्यप्रति सचेतना फैलाउने अभियानको महत्वपूर्ण हिस्सा भएको बताउँदै, नगरका सम्पूर्ण विद्यालयहरूमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो। कार्यक्रमको सञ्चालन नगर युवा सञ्जाल कावासोतीकी सचिव मनिता भुषालले गर्नुभएको थियो।