कावासोती नगरपालिकामा युवाको संस्थागत सहभागिता र नेतृत्व विकासलाई प्रवर्द्धन गर्ने ऐतिहासिक कदम स्वरूप हिजो ‘नगर युवा सञ्जाल कावासोती कार्यालय ’ तथा ‘युवा मैत्री स्थानीय शासन सम्पर्क एकाइ (YFLG Contact Unit)’ को स्थापना गरिएको छ।
यो दिन केवल एक साधारण कार्यसूची होइन, स्थानीय तहमा युवाको औपचारिक प्रतिनिधित्व र सहभागी शासन प्रणालीको आधारशिला राखिएको ऐतिहासिक अवसरका रूपमा चिनिएको छ र यो अत्यन्तै खुसीको कुरा हो अध्यक्ष पवन भुर्तेलले आफ्नो अनुभव यसरी साटे। योजना निर्माण, नीति तर्जुमा, बजेटको तर्जुमा तथा निगरानी प्रक्रियामा युवाहरूको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न यो संरचना निर्माण गरिएको हो।
‘नगर युवा सञ्जाल कावासोती ’का अध्यक्ष भुर्तेलले सम्पूर्ण युवाहरूको तर्फबाट सहभागिता जनाउँदै यो सम्पर्क केन्द्रको स्थापना स्थानीय तहमा युवा सहभागितामूलक नेतृत्व विकासको दिशामा ठोस र दूरगामी कदम भएको बताएका छन।यस ऐतिहासिक अवसरले कावासोतीमा युवामैत्री अभियानलाई थप उचाईमा पुर्याउने विश्वास लिएको बताएका छन । उनका अनुसार, “अब युवाहरू नीतिगत प्रक्रियाका दर्शक होइन, निर्णायक भूमिकामा उभिनेछन्। YFLG अभियानले स्थानीय सरकार र युवाबीचको सेतु मजबुत बनाउँदै जानेछ।”
यस कदमबाट युवामैत्री स्थानीय शासन (YFLG) अभियानलाई थप प्रभावकारी, समावेशी र संस्थागत बनाइने अपेक्षा गरिएको छ। स्थापनाको लागि नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा तथा जिन्सी शाखा प्रमुख लगायत विभिन्न प्राविधिक र सामाजिक साझेदारहरूको उपस्थिति र सहकार्य सशक्त रहेको थियो। यस उपलब्धिका लागि नगरपालिकाको नेतृत्व, प्रशासनिक सहयोग, तथा राष्ट्रिय युवा परिषद् र YFLG अभियान नेपालप्रति युवा समुदायले आभार व्यक्त गरेका छन्।
युवा सशक्तिकरण, सहभागी शासन र जवाफदेही नेतृत्वतर्फ उन्मुख हुँदैछ भन्दै युवामैत्री स्थानीय शासन लागू गर्न सरोकारवाला सबै लागिपर्न अध्यक्ष भुर्तेलले अनुरोध गरेका छन।