भारतको त्रिपुरा राज्य, अगरतलामा नोभेम्बर २० देखि २६, २०२५ सम्म आयोजना हुने चौथो अन्तर्राष्ट्रिय युवा महोत्सव ‘Heritage Fest 2025: Celebrating Culture, Creativity and Youth’ मा नेपालका सात जना युवा सहभागी हुने भएका छन्।
यो प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रम युवा विकास केन्द्र (Yuva Vikash Kendra) र त्रिपुरा राज्य सरकारको संयुक्त आयोजनामा हुँदैछ। दक्षिण एशियाका विभिन्न देशका युवाहरू सहभागी हुने यस उत्सवमा संस्कृति, कला, सृजनशीलता र नवप्रवर्तनका माध्यमबाट युवाको शक्ति र एकताको सन्देश फैलाइनेछ।
नेपालका तर्फबाट प्रतिनिधित्व गर्न चयन भएका सात युवाहरू हुन् — पवन भुर्तेल, आयुष ढकाल, रोजिस भुर्तेल, सिद्धार्थ पाण्डे, अस्मि महतो, ललिता चालीसे र पूर्ण अस्लामी मगर। यी युवाहरूले नेपालका विविध सांस्कृतिक मूल्य, परम्परा, र सृजनात्मक प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नेछन्। ‘Heritage Fest 2025’ अन्तर्गत सप्ताहव्यापी कार्यक्रमहरूमा सांस्कृतिक प्रस्तुति, कला र हस्तकला प्रदर्शनी, फुड फेस्टिभल, हेरिटेज वाक, युवा संवाद र अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान हुनेछन्।
कार्यक्रमले सहभागी युवाहरूलाई विश्वका अन्य देशका युवा र कलाकारहरूसँग अनुभव साटासाट गर्ने अवसर दिलाउनेछ। कार्यक्रमका आयोजकहरूले यो उत्सवलाई “संस्कृति र युवाको संगम” को रूपमा परिभाषित गर्दै यसले नयाँ पुस्तामा सृजनशीलता, सहकार्य र साझा पहिचानको भावना बलियो बनाउने बताएका छन्।
नेपालका प्रतिनिधिहरूले भने यस अवसरलाई नेपालको सांस्कृतिक सौन्दर्य, विविधता र युवा क्षमताको सशक्त प्रदर्शनका रूपमा लिनु परेको बताएका छन्। Heritage Fest 2025’ लाई यस वर्षको सबैभन्दा उत्साहपूर्ण युवा र सांस्कृतिक उत्सवका रूपमा हेरिएको छ, जसले युवाहरूलाई विश्व मञ्चमा आफ्नो पहिचान र दृष्टिकोण प्रस्तुत गर्ने प्रेरणा दिनेछ।