नवलपुर, असार १७ ,बसन्त न्यौपाने।
“ज्ञान, सीप र संस्कार : होलिडे स्कुलको आधार” भन्ने मुल नारासहित कावासोती इन्द्रचोकमा संचालम भैरहेको होलिडे स्कुल कार्यक्रममा विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गैरहेको छ। 
कावासोती नगरपालिका–इन्द्रचोकमा अवस्थित गण्डकी स्किल लर्निङ्ग एकेडेमी एण्ड ट्रेनिङ्ग सेन्टरद्वारा संचालन भैरहेको होलिडे स्कुल कार्यक्रम अन्तर्गत विहानी तथा दिवा समूहका विद्यार्थीहरू विभिन्न सिर्जनात्मक गतिविधिमा संलग्न हुने गर्दछन। विदाको समयलाई सिर्जनात्मक र उपयोगी बनाउने उद्देश्यले सञ्चालित कार्यक्रममा विद्यार्थीहरूले शैक्षिक अभ्यास, कला, नृत्य, संगीत, रचनात्मक लेखन तथा संस्कारजन्य गतिविधिमा सक्रिय सहभागिता जनाउदै आएका छन।
कार्यक्रमका बारेमा जानकारी दिँदै एकेडेमीका प्रबन्धक निर्देशक किरण भुर्तेलले भने, “होलिडे स्कुलमार्फत बालबालिकामा नेतृत्व, आत्मविश्वास, सिर्जनात्मकता र व्यावहारिक सीपको विकास गराउँदैछौं। यो केवल विदाको समयको सदुपयोग मात्र होइन, मूल्य–सिर्जनाको माध्यम पनि हो।”
उनका अनुसार विद्यार्थीहरूको उत्साहजनक सहभागिता र अभिभावकहरूको सकारात्मक प्रतिक्रियाले कार्यक्रमलाई अझ प्रभावकारी बनाउदै लगेको छ।होलिडे स्कुलमा कक्षा ५ भन्दा मुनि अध्ययन गर्ने बालबालिका र ५ माथी अध्ययन गर्ने बालबालिकाको छुट्टै दुई समूह बनाएर गतिविधिहरु संचालन हुँदै आएको छ।
विद्यालय विदाको समयमा बालबालिकाहरु सिर्जनात्मक तथा शैक्षिक गतिविधिमा संलग्न हुनुभन्दा पनि मोबाईलमा बढी व्यस्त रहने तथा अन्य अनावश्यक गतिविधिमा संलग्न रहने पाइएको हुदा विदाको समयलाइ सहि व्यवस्थापन तथा सदुपयोग गर्दै ज्ञान सीप र संस्कार सिकाउने उद्देश्यले होलिडे स्कुलको परिकल्पना गरिएको हो। गण्डकी स्किल लर्निङ्ग एकेडेमीले आगामी दिनहरूमा यस प्रकारका कार्यक्रमलाई अझ विस्तार गर्दै लैजाने योजना बनाएको पनि उनले बताए।