काठमाण्डौ – नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । स्थायी कमिटी बाट माधव–झलनाथ समूहका नेताहरू हटाइएका छन्। वामदेव गौतम लाई भने कायमै राखिएको छ ।
स्थायी कमिटीमा अध्यक्ष ओली सहित वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोप बहादुर रायमाझी लगायत रहनुभएको छ । नेकपा एमालेले माधव कुमार नेपाल सहित २७ सांसद लाई कारबाहीको जिम्मा पनि स्थायी कमिटी लाई दिएको छ ।
एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले आजै चयन गरेको स्थायी कमिटीलाई नेपाल–खनाल समूहका २७ सांसद लाई कारबाहीका बारेमा निर्णय गर्ने जिम्मा दिएको हो । बैठकले नेपाल–खनाल समूहमा रहेका नेताहरु सच्चिएर आए एमाले मै ठाउँ दिने निर्णय पनि गरेको छ ।
यस्तै कर्णाली प्रदेशका चार सांसदको एमाले पार्टी सदस्यता नरहने गरी कारबाही गर्ने निर्णय बैठकले गरेको छ । फ्लोर क्रस गरेका प्रकाश ज्वाला, अमर बहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई साधारण सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।
त्यस्तै भुलवश फ्लोर क्रस गरेको स्पष्टीकरण दिएकी देवी ओलीलाई थप स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।