देवचुली, एलिना केसी
देवचुली नगरपालिकाका तीन वटा विद्यालयमा बालबालिकाहरुलाई कोरोना भाइरस रोकथाम सम्बन्धी सचेतनामुलक तालिम सम्पन्न गरिएको छ । देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमबार पहिलो दिन देवचुलीका तीनवटा विद्यालयमा बालबालिकाहरुलाई कोरोना भाईरस संक्रमण रोकथामका लागि सचेतनामुलक तालिम संचालन गरिएको छ ।
देवचुली वडा नं १३ मा रहेको मुनलाईट आदर्श पब्लिक एकेडेमी, देवचुली १४ मा रहेको जनज्योती नमुना माध्यमिक विद्यालय र देवचुली ९ मा रहेको कालिका माध्यमिक विद्यालयमा पुगि कोरोना भाईरस बढेको अवस्थामा बालबालिकाहरुले के–कस्ता उपायहरु अपनाउनुपर्छ भन्ने विभिन्न विषयमा तालिम दिइएको थियो । देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठ, सि.अ.हे.व अधिकृत शिव पराजुली, पिताम्बर भुर्तेल लगायतले तालिममा प्रशिक्षण गर्नुभएको थियो ।
पछिल्लो केही समय यता नेपालमा कोरोना भाइरसको दोस्रो लहर चलिरहेकाले यो समयमा बिशेषगरि बालबालिकाहरुले संक्रमणबाट जोगिन के–कस्ता साबधानी अपनाउने, संक्रमण हुन भन्दा अगाडि बालबालिकाहरुमा देखिने लक्षण कस्ता प्रकारका हुन्छन् यो समयमा बालबालिकाहरुले ध्यान दिनुपर्ने कुराहरु साथै संक्रमण भइहाले कसरी संक्रमणबाट मुक्त हुने जस्ता विभिन्न विषयमा तालिम प्रदान गरिएको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरि देवचुली नगरपालिका स्वास्थ्य शाखा सि.अ.हे.व अधिकृत शिव पराजुलीले बालबालिकाहरुमा छिट्टै संक्रमण देखापर्ने हुँदा बालबालिकाहरु आँफैमा सचेत हुनपर्ने बताउनुभएको थियो । तालिममा देवचुली नगरपालिका स्वास्थ्य शाखा सि.अ.हे.व अधिकृत पिताम्बर भुर्तेलले विद्यालय आउँदा माक्स अनिवार्य रुपमा लगाउने, सेनिटाइजर प्रयोग र साबुन पानीले हात धुने जस्ता धेरै कुराहरु अपनाउन सकेसंक्रमण हुनबाट बच्न सक्ने बताउनुभएको थियो ।
कार्यक्रम आगामी ८ गते बुधबार देवचुली नगरपालिका भित्रका ६ वटा विद्यालयमा गरिने भएको छ । कोरोना भाइरस न्युनिकरण गर्नका लागि विभिन्न विद्यालयहरुमा तालिम आयोजना गरिएको हो ।