भैरहवा । ‘‘कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिबद्धता’’ भन्ने राष्ट्रिय नाराका साथमा रोहिणी गाउँपालिकाको वडा नम्बर ३ धकधईमा २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रम सपन्न भएको छ ।
रोहिणी गाउँपालिकाको आयोजाना तथा रोहिणी गाउँ समन्वय समिति र अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बुटवलको समन्वयमा भएको कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष शिवकान्ती चमारको अध्यक्षता, गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको प्रमुख आतिथ्यता एवं प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको विशिष्ट आतिथ्यतामा रहेको थियो ।
अपाङ्गता भएका व्यक्ति सहितको गाउँपालिकाबाट र्याली निकाली वडा नं ३ को सभाहलमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि सनोज कुमार यादवले अपाङ्गताको क्षेत्रमा आफूहरुले दीर्घकालिन रुपमा योजना बनाई काम गर्न खोजिरहेको र अपाङ्गता भएका व्यक्तिप्रति सबैको उत्तिकै दायित्व रहेको बताउनुभयो ।
त्यस्तै रोहिणी अपाङ्गता सञ्जालका अध्यक्ष सलाकद गद्दीको स्वागत मन्तव्य एवं गाउँपालिकाकी कर्मचारी जमुना शार्माको सञ्चालनमा रहेको उक्त कार्यक्रममा सरोज पाण्डे लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
अपाङ्गता बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र सक्षम परियोजनाका पुर्नस्थापन सहायकले दिवसको महत्त्व, इतिहास र उद्देश्यबारे सहजीकरण गर्नुभएको थियो भने अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक मुल प्रवाहमा सहभागिता र निर्णय प्रक्रियाको पहुँच बिस्तारको लागि अपाङ्गता भएका व्यक्ति समाज र स्थानिय सरकार सबै मिलेर लाग्नुपर्ने र नीति निर्माणहरु पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने कुरामा वक्ताहरुले जोड दिनुभएको थियो ।