मेराे जन्म साविककाे छतारा गाउँ विकास समिति वडा नम्बर ५ हाल त्रिबेणी नगरपालिका वडा नं. २ मा अवस्थित एक गरिब परिवारमा स्व. पिता पाउने बुढा र स्व. माता माहामती बुढाको कोखबाट वि.सं. २०४५ पौष महिनामा भएको थियो ।
हाम्रो परिवारको आर्थिक अवस्था साह्रै नाजुक थियो । ज्याला मजदुरी गरेर नै आमाबुवाले घर खर्च चलाउनु हुन्थ्यो । मेरा बुवा चार दाजुभाई मध्येका जेठाे हुनुहुन्थ्यो भने मेरा ६ वटा दिदीहरु र दुईवटा दाजुहरु हुनुहुन्थ्यो । परिवारमा सबै भन्दा कान्छी भएरै होला सानो छदा सबैको माया पाएर हुर्केकी थिए । तर एकाएक मेरो जीवनमा ठुलो बज्रपात आइलाग्यो, सानै उमेरमा आमा गुमाउनु पर्यो त्यति बेला म सात कक्षामा पढ्दै थिए ।
सानै देखि आफैले भारि बोक्दै ज्याला मजदुरी गरेर आएको पैसाले कापी कलम र स्कुलको पढाई शुल्कको जोहो गर्दै आएकी म माथि प्राण प्यारि आमा गुमाउनुको पिडा थपिँदा झनै जीवन अन्धकारमा रुमलिएको थियाे । हजारौं समस्याका बाबजुत पनि मैले मेरो पढाईलाई निरन्तरता दिँदै गए । आमाको मृत्यु पछि घरमा झनै आर्थिक संकट आइलाग्यो । त्यति बेला आर्थिक रुपले विपन्न परिवार भनेर सबैले हेप्ने गर्थे, आमा पनि छैन बुवाकाे पनि नाजुक अवस्थालाई देखेरै होला मलाई समाजमा घिर्णा गर्थे ।
हामीहरुको त्यस्तो बिचल्ली परेको बेलामा पनि साथीभाईहरु देखि मेराे समाज कसैले पनि हामीलाई कहिल्यै सहयोग नगरेको त्यो नरमाइलो समयले मनमा अशान्ति पैदा गराउथ्यो र त नेपाली उखान "छन् गेडी सबै मेरा, छैनन् गेडी सबै टेढा" मानस पटलमा छाई रहन्छ ।
मेरो स्कुले जीवन र पारिवारिक जीवन दुख र कष्ठ भोग्दै दिनहरु बिताई अगाडि बढेकी हुँ । म वि.सं. २०६३ सालमा एस.एल.सी. दिए, वि.सं. २०६६ सालमा प्रमाण पत्र तह र वि.सं. २०७० सालमा स्नातक तह सम्मको औपचारिक शिक्षा हासिल गर्न सफल भए । मेराे विवाह वि.सं. २०६५ साल बैशाख महिनामा बडिमालिका नगरपालिका वडा नं. ९ निवासी एक मध्यम वर्गीय परिवारका सबै भन्दा कान्छा छाेरा बिपिन बहादुर बिष्टसँग बैवाहिक जीवन सम्बन्ध जाेडिएकाे थियो ।
हाल मेरा दुईवटा छोराहरु ११ वर्ष र ७ वर्षका छन् । अब विगतलाई सम्झेर दुखि हुन चाहन्न, दु:खसुख जे-जस्तोसुकै भए पनि जीवनका दुई ठुला खुट्किला पार गर्न सफल भए जस्तो लाग्छ । म आठ वर्ष स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एल.जी.सी.डि.पी.) अन्तर्गत सामाजिक परिचालक भई समाज सेवा गर्ने अवसर पाएकि थिए ।
वि.सं. २०६५ साल देखि वि.सं. २०७२ साल सम्म नेपाल महिला संघको जिल्ला कार्य समितिमा सचिवको जिमेवारी पाए । त्यस्तै वि.सं. २०६९ साल देखि संगसंगै अन्तरपाटी महिला सञ्जाल बाजुराकाे पनि सचिव भएर समग्र बाजुरेली महिला दिदिबहिनीहरु र पछाडि परेका वर्गहरुकाे आवाज उठान गर्ने माैका पाएकि छु । वि.सं. २०७४ सालकाे स्थानीय चुनावमा नेपाली काङ्ग्रेसबाट निर्वाचित भई हाल बडिमालिका नगरपालिकामा उप-प्रमुखकाे रुपमा जिम्मेवारी सम्हाल्दै आइरहेकि छु ।
साथै नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको सदस्यकाे रुपमा क्रियाशील रहेकी छु भने स्कुल अफ डेमोक्रेसीकाे जिल्ला अध्यक्षकाे पनि एउटा थप जिम्मेवारी म माथि थपिएको छ । म यहाँसम्म पुग्नुको श्रेय मेरो घरपरिवार अझ विशेषतः मेरा लाईफ पार्टनर बिपिन बहादुर बिष्ट ज्युलाई जान्छ ।
हरेक सफल पुरुषको पछाडी महिलाको हात हुन्छ भने जस्तै प्रत्येक महिला सफल हुनका लागि पनि पुरुषको उतिकै ठुलो महत्व आवश्यक हुन्छ । यो मेरो जीवनको व्यक्तिगत अनुभव पनि हो । म एकदम नाजुक घरपरिवारबाट जन्म भई उकाली अाेरालि काट्दै मेरो जीवन साथीबाट उहाँको साथ, सहयोग र सुझाव सल्लाह पाउँदा मेरो जीवन उज्जवल भएको छ जसले गर्दा मैले याे ठाउँमा पुग्ने अवसर पाएकि छु ।
अहिले जनसमुदायकाे मायाले बडिमालीका उपमेयर भएको नताले समाजमा हरेक हिसाबले पछाडि परेका दाजुभाई तथा दिदिबहिनीहरुकाे सेवामा सधैं समर्पित रहने छु ।