सुमन बस्याल, बुटवल।
नेपालमा फेरि पनि नक्सा र राष्ट्रवादको बहसले सामाजिक सञ्जाल तताएको छ। फेसबुकका भित्ताभर कतै चुच्चे नक्सा देखाउँदै आक्रोश पोख्नेहरू छन्, कतै देशप्रेमका नाराले भरिएका स्टाटस। तर नक्साले मात्र मुलुकलाई समृद्ध बनाउन सक्दैन भन्ने तर्क बढ्दो छ।, विश्लेषकहरूका अनुसार नक्सा छापेर मात्र सीमाको समस्या समाधान हुने भए पनि भोक, बेरोजगारी र भ्रष्टाचारका समस्या समाधान हुन सक्दैनन्। “भोकाएको पेटमा चन्द्र–सूर्य अंकित नक्साले भात पाक्दैन, बेरोजगार युवाले ‘माटो जोगायौँ’ भन्ने स्टाटसबाट रोजगारी पाउँदैनन्,” उनीहरू बताउँछन्।
मुख्य समस्या नक्सा वा नारामा नभई नियतमै रहेको टिप्पणी गरिँदै आएको छ। दशकौँदेखि सत्तामा पुगेका नेताहरू स्वार्थ, भ्रष्टाचार र कुर्सी मोहमा फसेकाले मुलुक अघि बढ्न नसकेको विश्लेषण छ।
यसैबीच, हालै गठन भएको अन्तरिम कार्की सरकारलाई लिएर पनि बहस जारी छ। पूर्व ब्युुरोक्रेट र प्रशासकहरूले नेतृत्व गरेको यो सरकारलाई केही समय पर्खेर मूल्यांकन गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन्। उनीहरूको भनाइमा, “यी व्यक्तिहरू राजनीति भन्दा कामतिर केन्द्रित हुने अपेक्षा गरिएको छ, तर यदि नियतमै खोट आयो भने फेरि अर्को नक्सा छाप्ने नाटक सुरु हुनेछ।” ---