१९ बैशाख, बाँके । बाँकेको स्थिति भयावह हुन नदिन जिल्ला प्रशासन कार्यालय बाँके प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई उपप्रधानमन्त्री तथा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सिसिएमसी) का संयोजक ईश्वर पोखरेलले निर्देशन दिएका छन ।
आज पोखरेल र गेलाल बीच भएको टेलिफोन संवादमा बाँकेको स्थिति बारे जानकारी लिदै नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका हुन । पोखरेलले बेलैमा कदम चाल्नका साथै सिसिएमसीका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग रह्ने बताएका छन ।
कुनै गम्भीर विषय भएमा सिसिएमसीले हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सिधै सम्पर्क गर्न बताएका छन । त्यस्तै यता प्रमुख अधिकारी गेलालले बाँकेमा उत्पन्न भयावह अवस्था बारे जानकारी गराएका छन । कोरोनाबाट संक्रमीत हुनेको चाप बढेकोले अस्पतालमा श्ययाको अभाव भएको, मेडिकल डाक्टरको अभाव भएको तथा नेपाल मेडिकल कलेज कोहलपुरलाई कोभिड अस्पतालका रुपमा अगाडि बढाउने विषय प्रक्रियामै रहेको जानकारी गराएका थिए ।
उपप्रधानमन्त्री पोखरेलले यी सबै विषयमा तत्कालै सिसिएमसीका तर्फबाट सम्बोधन गरिने बताए । उपप्रधानमन्त्री पोखरेलले गोलाललाई सुझाव दिदै कोरोनाका बिरामीको उपचारका लागि पूर्वाधार भएको ठाउँको पहिचान गरी तयारी गर्न, निजी अस्पतालका पूर्वाधारलाई सदुपयोग गर्न, अक्सिजनको पर्याप्त व्यवस्था गर्नसमेत प्रजिअलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।