सन्दर्भ लकडाउन: दैनिकी मजदुरी गरेर परिवार पाल्ने गरिबलाई एउटै चिन्ता ‘लकडाउन लम्बियो भने के खाने’
१० बैशाख, बाँके । केही दिन अगाडि भारतमा दोस्रो लहरको कोरोना संक्रमण दर तीब्र रुपमा बढन थाले संगै नेपालमा पनि त्यसको असर परेको छ ।
नेपाल-भारत बीच खुल्ला सिमानानाका र गैर जिम्मेवार प्रशासनका कारण शुन्यमा झरेको कोरोना संक्रमणको दर पुनः नेपालका खुल्ला सिमानाका क्षेत्र नजिकका सहरहरुमा तीब्र रुपमा बढेको छ । जस मध्ये बाँके जिल्लाको नेपालगन्ज पनि पर्दछ ।
कोरोना संक्रमणको विषयमा हाल नेपालगन्ज सहरको अवस्था डर लाग्दो रुपमा अगाडी आएको छ । दैनिक तीब्र रुपमा कोरोना संक्रमणको दरमा उकालो लाग्दै गए पछि हाल विकल्प अनुरुप बाँके प्रशासनले जिल्लामा लकडाउन गरेको छ ।
बाँकेमा कोरोना संक्रमणको उच्च जोखिम भए संगै जिल्ला प्रशासन कार्यालय बाँकेले बिहिवार राती १२ बजे देखि लागू हुने गरि आगामी एक साताका लागि लकडाउनको आदेश गरेको छ ।
तर प्रशासन, स्थानीय सरकार लगायतका सरोकारवालाहरुले कुनै प्रभावकारी योजना नै नबनाइ एकाएक लकडाउन गरेको विषयलाई लिएर समाजिक संजालमा हजारौं नेपालगन्ज वासीहरुले आफ्ना पीडा पोखी रहेका छन ।
यता यो खबर सुन्ने बित्तिकै गरिबको मुखको मुस्कान हराएको छ । उनीहरुको एउटै विषयमा मन पिरोलिएको छ लकडाउनको अवधि लम्बियो भने “हामी के खाने !”
नेपालगन्जको सन्दर्भमा दैनिक बिहान देखि त्रिभुवन चोक, रामलिला मैदान लगायतका स्थानमा ५०० बढी मजदुर कामको खोजीमा सडकमा हुन्थिए तर लकडाउन भए संगै नेपालगन्ज सुनसान भएको छ ।
नेपालगन्जमा लकडाउन भए संगै रामलिला मैदानमा पहिलो दिन पुगेका सुभास खटिकले भने,”मजदुरी गरेर दिनमा ५००-६०० कमाउन्थिए, कहिले काम मिल्छ कहिले मिल्दैन । आज पनि काम कै खोजीमा यहाँ आएको छु । कोरोना भन्दा डर परिवार भोगले मर्ने डर छ । साना साना बच्चालाई कोरोना भनेको के हो त्यति थाहा छैन तर भोग भनेको थाहा छ । यस अघि पनि लकडाउन भएको थियो काम बन्दका कारण कहिले खाना खाएर सुते कहिले नखाएरै सुते।” उनले बताए ।
हाल नेपालगन्जको अवस्था दयनीय छ । केन्द्रिय सरकारले कोरोनाको बढी जोखिममा रहेका जिल्लाहरुको अवस्था बारे स्थानिय सरकारलाई जिम्मेवारी दिएको छ । अवस्था अनुसार स्थानिय सरकारले ठोस कदम चाल्न आदेश दिए पनि बाँकेको सन्दर्भमा भने लकडाउन बाहेक केही देखिएको छैन ।
केही हप्ता अगाडि देखि बाँकेमा कोरोना संक्रमणको पोजेटिभ केस बढन थालेको छ । तर सिमानाकामा भने चहलपहल उत्तिकै छ । मार्केटमा पहिलाको तुलनामा सुनसान छ कारण: पहिलो लहरको कोरोना संक्रमणले दिएको सन्देश !
कोरोनाको केस दिनहुँ २०० बढी आईरहेको बारेमा अग्रिम जानकारी हुँदा हुँदै पनि स्थानिय लगायत प्रदेश सरकारले कुनै ठोस कदम चाल्न सकेको छैन्न। अस्पतालमा बिरामीको उपचारमा आवश्यक पर्ने oxygen, बेड लगायतका तत्वहरुको उचित व्यवस्थापन हुन नसकेको अस्पतालको स्रोतले जनाएको छ ।
लकडाउन भनेको के हो ? (एजेन्सी)
‘लकडाउन’ भनेको एक यस्तो आपत्कालीन व्यवस्था हो जसअन्तर्गत निजी प्रतिष्ठान, निजी कार्यालय एवं सार्वजनिक यातायात पूर्ण रूपले बन्द गरिन्छ।अर्थात् कुनै विशेष कारणविना मानिस घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन्।
नेपालगन्जमा लागु गरिएको ‘लकडाउन’ अनुसार यहाँ अब सात दिनसम्म सार्वजनिक र निजी सबै यातायात बन्द रहनेछन् । तर अवस्था हेरेर थप पनि गर्न सकिने जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरेको छ ।
यो अवधिमा अत्यावश्यक, स्वास्थ्यकर्मी र सुरक्षा निकायका सवारीसाधन सञ्चालनमा भने रोक लगाइने छैन । सबै पसल, स्टोर, कारखाना, वर्कशप, अफिस, गोदाम तथा साप्ताहिक बजार बन्द रहनेछन्।
तर लकडाउनको अवधिमा प्रहरी कार्यालय, अस्पताल, अग्नि नियन्त्रक कार्यालय, जेल, महत्त्वपूर्ण सरकारी कार्यालय तथा सरकारी खाद्यान्न एवम् किराना पसल निश्चित समयसम्म खुला रहनेछन्।
यस्तै बिजुली, पानी, इन्टर्नेट ब्याङ्किङ तथा एटीएमजस्ता सुविधा जारी रहनेछन् भने प्रिन्ट तथा इलेक्ट्रोनिक सञ्चारमाध्यमलाई पनि काम गर्न दिइनेछ।
यता नेपालगन्जको अवस्था दिनहुँ नियन्त्रण भन्दा बाहिर गइ रहेको भए पनि स्थानीय सरकार केही पहल समेत नभएको बुझिएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेको ९ गतेको रिपोर्ट अनुसार बाँकेमा १२६६ जना कोरोना संक्रमणको पोजेटिभ केस छन । बाहिरी जिल्लाका ७२ जना छन । पोजेटिभ केस भएका भेरी अस्पताल नेपालगन्जमा मात्र १३९ जना छन । भेरीमा बिरामीको खचाखछ छ ।