काठमाण्डौ – नेकपा एमालेले माधव नेपाल पक्षका २७ जना सङ्घीय सांसद र चार जना प्रदेश सभा सदस्य सहित ३२ जना नेताहरू लाई तीन दिने स्पष्टीकरण सोधेको छ ।
पार्टीको नेतृत्व विरुद्ध लागेको र नीति उल्लङ्घन गर्दै नयाँ दल गठन गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले २७ जना सङ्घीय सांसद र पाँच जना नेतालाई तीन दिने स्पष्टीकरण सोध्नुभएको हो । स्पष्टीकरण पत्रमा पार्टीको विधानमा उल्लेख भए अनुसार ३२ जना नेताहरूले नयाँ दल गठन गरेको मानिएकाले तपाईँहरू लाई सांसद पद र पार्टी सदस्य बाटै किन नहटाउने ? भनेर प्रश्न गरिएको छ ।
सूर्य चिह्नको दुरुपयोग गरेको, पार्टीलाई बदनाम गराएको, अर्को पार्टी खोलेको र मूल पार्टीले दिएका लिखित र मौखिक निर्देशन नमानेको आरोप पनि स्पष्टीकरण पत्रमा उल्लेख छ । पार्टी विरुद्धका गतिविधि कायमै रहेमा जुनसुकै बेला थप कारबाही हुन सक्नेतर्फ सचेत गराउँदै सच्चिएर पार्टीमा फर्कन मौका दिएर स्पष्टीकरण सोधिएको पत्रमा लेखिएको छ ।
एमालेमै फर्कने प्रतिबद्धता सहितको स–प्रमाण जवाफ पेस भएमा कारबाहीको बारेमा पार्टीले विचार गर्न सक्ने अन्यथा जुनसुकै बेला कठोर कारबाही हुन सक्ने एमालेले चेतावनी दिएको छ ।