ताप्लेजुङ-ताप्लेजुङमा वर्षको सुरु आतमा कोरोना कहरका बीचमा सुरु भएको आगलागीका घटना अन्त्यसम्म नै रोकिएनन्। जेठ, असार, साउन र असोजमा एक–एक घर जल्दा ९ लाख ३ हजार बराबरको क्षति भयो। कात्तिकमा २ घर जले। ६९ लाख १० हजार मूल्यबराबरको क्षति भयो। ३ जना घाइते भए। मंसिर र पुसमा ३–३ घर जल्दा १८ लाख १० हजारको क्षति भएको प्रहरीको तथ्यांक छ।
पुसको पहिलो हप्तादेखि प्रसिद्ध तीर्थस्थल पाथीभराको वनमा लागेको डढेलो महिना दिनपछि मात्रै पूर्ण नियन्त्रणमा आएको थियो। डढेलोबाट पाथीभराको मन्दिर बचाउन सिम्रिक एयरको हेलिकप्टर समेत प्रयोग गरिएको थियो। नेपालमै पहिलो पटक डढेलो निभाउन हेलिकप्टरबाट पानी खन्याइएको थियो।
पुस १३ गते हेलिकप्टरबाट पानी खन्याएपछि मन्दिर क्षेत्र सुरक्षित भयो। वनको आगो निभाउन त्यसपछि पनि सुरक्षा निकाय, मन्दिरका कर्मचारी र स्थानीय महिनैभरि खटिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताउँछन्।
‘मन्दिर र आसपासका धर्मशाला बचाउन अन्तिम विकल्पको रूपमा हेलिकप्टरको प्रयोग गरेका थियौं,’ उनी भन्छन्, ‘हेलिकप्टरले पाँच पटक पानी हालेपछि आगो मन्दिरसम्म पुग्न पाएन। मैले थाहा पाएयता पाथीभराको वनमा पहिलोपटक आगो लागेको हो।’
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।