नेपाललाई बुझ्न संविधान मात्र पढेर पुग्दैन। यो देशलाई बुझ्न बिहान बज्ने घण्टा, ढेङ्ग्रो, अजान र प्रार्थनाको ध्वनि सुन्नुपर्छ। यी ध्वनिहरूको संगम नै नेपालको आत्मा हो। आज प्रश्न उठ्छ—धर्म निरपेक्ष कि धर्म सापेक्ष? हामी कता उभिने?
धर्म निरपेक्ष राज्य भनेको धर्मविहीन समाज होइन। यो त राज्यको निष्पक्षता हो, जहाँ सरकार कुनै एक धर्मको प्रतिनिधि हुँदैन, तर हरेक नागरिकको अधिकारको रक्षक हुन्छ। राज्य तटस्थ रहन्छ, तर समाज आफ्नो आस्थामा स्वतन्त्र रहन्छ।
धर्म सापेक्षताको अर्थ पनि बुझ्नुपर्छ। यदि यसको अर्थ आफ्नो सभ्यता, संस्कार, दर्शन र परम्परामा गर्व गर्नु हो भने नेपाल त सधैं सापेक्ष नै छ। यहाँ वेद–उपनिषदको ज्ञान छ, बुद्धको करुणा छ, किरात मुन्धुमको प्रकृति दर्शन छ, इस्लामको अनुशासन छ, र क्रिश्चियन धर्मको प्रेम र क्षमाको शिक्षा छ। यी सबैले यो देशको चेतना निर्माण गरेका छन्।
कुनैले विभाजनको बीउ बोकेको छैन; विभाजन त तब आयो, जब आस्थालाई राजनीति बनाइयो। नेपालको शक्ति के हो? एक धर्मको प्रभुत्व होइन, अनेक धर्मको सहअस्तित्व।
पशुपतिनाथ र लुम्बिनी एउटै भूमिमा हुनु संयोग होइन; यो हाम्रो सभ्यताको घोषणा हो—“विविधता नै हाम्रो एकता हो।” विश्व आज तनावग्रस्त छ, हामीसँग ध्यान र योग छ। विश्व आज पहिचान खोज्दैछ, हामीसँग जीवित सभ्यता छ।
हामीले आफ्नो मौलिकता छोडेर होइन, उही मौलिकतालाई वैज्ञानिक व्याख्या र सांस्कृतिक कूटनीतिसहित विश्वमा लैजानुपर्छ। विदेशमा रहेका नेपालीहरूले भाषा सिकेर, संस्कृति बुझेर नेपालका सांस्कृतिक दूत बन्न सक्छन्। “Nepal — Land of Living Civilization” भनेर विश्वसामु उभिन सक्छौँ। अन्ततः प्रश्न निरपेक्ष कि सापेक्ष मात्र होइन। प्रश्न हो—के हामी न्यायपूर्ण, आत्मगौरवसहित र सहअस्तित्वमा विश्वास गर्ने राष्ट्र बन्न सक्छौँ?
राज्य निरपेक्ष रहोस्, तर हाम्रो आत्मा सापेक्ष रहोस्—संस्कारप्रति, सभ्यताप्रति र मानवताप्रति। ढेङ्ग्रो बजिरहोस्, घण्टा गुन्जिरहोस्, अजान सुनिरहोस्, प्रार्थना उठिरहोस्; तर माटो एउटै रहोस्।
यही हो नेपालको मार्ग। यही हो हाम्रो भविष्य। राधे राधे।
लेखक: सन्जुबाबु पोख्रेल,मध्यविन्दु नवलपुर