रुपन्देही -रुपन्देही उद्योग संघले आगामी पौष ७ देखि १९ गतेसम्म आयोजना गर्न लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सवको तयारीलाई तिव्रता दिन थालेको छ । यसै शिलशिलामा संघको एक डेलिगेशन टोलीले संघीय सरकारका विभिन्न मन्त्रालय र विभागहरुमा आयोजनाको प्रस्ताव पत्र पेश गरेको छ ।
संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री विष्णु प्रसाद पौडेल, शिक्षा, विज्ञान तथा पर्यटन मन्त्री कृष्ण गोपाल श्रेष्ठ, उद्योग सचिव अर्जुन पोखरेल, पर्यटन सचिव यादव प्रसाद कोइराला, उद्योग विभागका महानिर्देशक जिवलाल भुसाल, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्द किशोर बस्नेत, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मी, रुद्रसिंह तामाङ्ग, व्यापार तथा निकास प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणासँग भेट गरी १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव बारे जानकारी गराउनुका साथै सहकार्यका लागि प्रस्ताव पत्र पेश गरेको छ । सोही क्रममा कृषि तथा पशुपंक्षी मन्त्रालय, कृषि विभाग लगायतका कार्यालयहरुमा समेत प्र्रस्ताव पत्र पेश गरिएको संघले जनाएको छ ।
भेटघाटका क्रममा अध्यक्ष बाबुराम बोहोराले राष्ट्रिय औद्योगिक प्रदर्शनीको ऐतिहासिक पृष्ठभूमी, आयोजनाको उद्देश्य र उपलब्धीहरु सम्बन्धमा जानकारी गराउदै विगतका आयोजनाहरुले स्वदेशी उत्पादनको प्रवद्र्धन, उद्यमशिलता विकास, आयात प्रतिस्थापन, बजारीकरण, कृषिको आधुनिकीकरण र पर्यटन प्रवद्र्धनको क्षेत्रमा पुरयाएको योगदानका बारेमा समेत अवगत गराउनु भएको थियो । सोही क्रममा संघका निवर्तमान अध्यक्ष गणेश प्रसाद अधिकारीले विगतका आयोजनाहरुमा सरकारका विभिन्न मन्त्रालय र विभागहरु बाट भएको सहयोग र सहकार्यले निजी क्षेत्रलाई उत्साहित बनाएकौ बताउदै यस पटकको आयोजनामा समेत हातेमालो गर्न आग्रह गर्नु भएको थियो ।
“संमृद्ध नेपाल निर्माणको आधार,स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका साथ २०७८ पौषमा बुटवलमा आयोजना हुन गइरहेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव सम्पन्न गर्न संघीय सरकारका मन्त्रालय र विभागहरु बाट सहकार्य र उल्लेख्य सहयोग रहने प्रतिवद्धता प्राप्त भएसँगै आयोजना सफलता पूर्वक सम्पन्न गर्न संघले पृथक पहिचान सहित आवश्यक तयारीहरु लाई तिव्रता दिएको संघका महासचिव जीवकान्त काफ्लेले बताउनु भएको छ ।
सोही अबसरमा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई सफलता पूर्वक सम्पन्न गर्न सरकारी सबै निकायहरु बाट सक्रिय सहयोग हुने र आफुले पनि प्रत्यक्ष रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
डेलिगेशन टोलीले सोही क्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिष कुमार मोर र पदाधिकारीहरु सँग भेट गरी आयोजनाबारे जानकारी गराएको थियो । भेटका क्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिष कुमार मोरले राष्ट्रिय औद्योगिक प्रदर्शनीमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै परिसंघले संचालन गरिरहेको मेक इन नेपाल अभियानलाई समेत सँगै जोडेर लैजान आग्रह समेत गर्नु भएको थियो ।
रुपन्देही उद्योग संघले २०४५ सालमा काठमाडौं बाहिर प्रथम पटक आयोजना गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनी यस पटक १५ औं संस्करणको रुपमा आयोजना हुँदै छ । डेलिगेशनकै शिलशिलामा संघले आगामी वर्ष २०७८÷२०७९को बजेटका सन्दर्भमा तयार गरेको सुझाव अध्यक्ष बाबुराम बोहोराले अर्थमन्त्री पौडेल समक्ष पेश गर्नु भएको थियो ।