आदरणीय नेपाली कांग्रेस केन्द्रीय पार्टी सभापति गगन कुमार थापा ज्यू,
यो पत्र कुनै व्यक्ति विशेषको आग्रह होइन,यो आसन्न चुनावको संघारमा उभिएको एक जिम्मेवार नागरिकको स्पष्ट सुझाव र अपेक्षा हो।आज नेपाली जनता परिवर्तन चाहन्छन।तर त्यो परिवर्तन दिशाहीन होस् भन्ने चाहना कसैको छैन।स्थायित्व, पहिचान, न्याय र भविष्ययी चार आधारमा भरोसा गर्न सक्ने नेतृत्वको खोजीमा जनता छन्। नेपाली कांग्रेस आज पनि देशको सबैभन्दा ठूलो,सबैभन्दा पुरानो र सबैभन्दा निर्णायक राजनीतिक शक्ति हो।र तपाईं कांग्रेसको मात्र होइन भोलिको नेपालको राजनीतिक दिशाका मुख्य संवाहक बन्ने हैसियतमा हुनुहुन्छ।
आसन्न चुनावमा जनताको एउटा ठूलो तप्काआर्थिक एजेन्डासँगै पहिचान, संस्कृति र चेतनाको प्रश्न सँग गहिरो रूपमा जोडिएको छ।यो प्रश्नलाई बेवास्ता गर्ने दल चुनावी रूपमा पनि कमजोर हुने यथार्थ अब लुकाएर राख्न सकिने अवस्था छैन।
धर्मनिरपेक्षताको नाममा हाम्रो समाजलाई बाँध्दै आएका हिन्दु, बौद्ध, किराँत र बोन परम्पराहरू राज्यको प्राथमिकताबाट बाहिरिँदै गए।यसको परिणामस्वरूप सांस्कृतिक असुरक्षा,पहिचानको द्वन्द्व र मौन असन्तोष बढ्दै गएको छ। सभापति ज्यु ।यो “धर्म राज्य बनाऔं” भन्ने बहस होइन।यो “राज्यलाई आफ्नो सभ्यताप्रति तटस्थ मात्र होइन, संवेदनशील बनाऔं” भन्ने बहस हो।
यदि नेपाली कांग्रेसले— – संस्कृत, मातृभाषा र मौलिक संस्कारको संरक्षण – सांस्कृतिक सम्पदाको राज्यस्तरीय जिम्मेवारी – धर्म र संस्कृतिको नाममा हुने अतिवादविरुद्ध स्पष्ट नीति – र सभ्यतासँग मेल खाने आधुनिकताको मार्ग यी विषयलाई आफ्नो चुनावी एजेन्डामा स्पष्ट रूपमा समेट्छ भने नेपाली कांग्रेसले आज अन्योलमा रहेका लाखौं मतदाताको भरोसा पुनः जित्न सक्छ।
राप्रपाले सडकमा उठाइरहेका मुद्दालाई कांग्रेसले जिम्मेवार नीति कार्यक्रममार्फत राष्ट्रिय बहसमा बदल्न सक्छ।यसले कांग्रेसलाईन त प्रतिक्रियावादी बनाउँछ, न त धर्मको राजनीतिमा फसाउँछ— बरु कांग्रेसलाई सन्तुलित, परिपक्व र राष्ट्रिय शक्ति को रूपमा पुनः स्थापित गर्छ। सभापति ज्यू, आज तपाईंले उठाउने आवाज भोलिको चुनावी परिणामसँग मात्रै होइन, आगामी पुस्ताले गर्ने मूल्याङ्कनसँग पनि जोडिनेछ।यदि कांग्रेसले जनताको संस्कृति र चेतनालाई आफ्नो राजनीतिक यात्राको सहयात्री बनायो भने आसन्न चुनावमा जनताको सहयोग स्वतः आउनेछ।यो पत्र समर्थनको वाचा होइन, सम्भावनाको संकेत हो।इतिहास बोल्नेहरूलाई सम्झन्छ,मौनबस्नेहरूलाई प्रश्न गर्छ।