काठमाडौं । नयाँ सरकार गठनबारे अलमलमा देखिएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज दिउँसो २ बजे बस्दैछ ।
पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा उपसभापति विमलेन्द्र निधिले अरु दलबाट आएकाहरुको समायोजन र महामन्त्री पूर्ण बहादुर खड्काले क्रियाशील सदस्यता छानविनका लागि समय थप गर्न महाधिवेशनको कार्यतालिका लाई हेरफेर सम्बन्धी प्रस्ताव पेस गर्ने औपचारिक एजेण्डा रहेको छ । तर बैठकमा सरकारकै मुद्दाले प्राथमिकता पाउने देखिएको छ ।
माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको छ भने जनता समाजवादी पार्टी (जसपा) विभाजित देखिएको छ ।
डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष कांग्रेस, माओवादी र जसपा गठबन्धन बनाउने पक्षमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष ओलीसँग निरन्तर सम्वादमा रहेका छन् ।
जसपामा देखिएको विवाद लाई देखाएर देउवाले सरकार गठनमा अग्रसरता दिएका छैनन् । पार्टीका नेताहरु सँग देउवाले अहिले नै प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा जसपाले भोट नहाल्ने तर्क गर्दै आएको छ ।
आजको केन्द्रीय कार्य समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले यसमा नयाँ प्रस्ताव राख्न सक्ने छन् ।