रौतहटमा केही दिन अघि एक पुजारीको हत्या भएको र त्यसपछि हत्यारालाइ कारबाही गर्न सरकारले उचित तत्परता नदेखाएको भन्दै एघार वटा धार्मिक संगठनले घटनाप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषिलाइ कडा भन्दा कडा कारबाहीको माग र उनलाइ धार्मिक सहिद घोषणा गर्नु पर्ने माग सहित प्रेस विज्ञप्ति जारी गरेका छन । विज्ञप्तिमा भनिएको छ " यही भाद्र ३ गते रौतहटको माधवनारायण न. पा. २ स्थित हनुमान मन्दिरका पूजारी श्रीराम साहको अज्ञात समूहद्वारा हत्या गरिएको दु:खद घटनाले नेपालको धार्मिक समाजलाई मर्माहत बनाएको छ । साधुसन्त, पण्डित, पूजारीको हत्या जस्तो जघन्य अपराध भएकोमा अपराधी पत्ता लगाई पीडितलाई न्याय दिलाउन नेपाली धार्मिक समाजले सरकार सँग माग गरेको छ, यसरी माग गर्नु कदापि नाजायज होइन । आफ्ना नागरिकको जिउधनको सुरक्षा दिनु राज्यको कर्तव्य हो र कसैेको पनि ज्यान मारिएको घटनालाई अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्नु राज्यको प्रमुख दायित्व हो । तर कार्वाही गर्नुको सट्टा पूजारी हत्या प्रकरणकै सन्दर्भलाई जोडेर गृहमन्त्रालयको लेटरप्याड छाप दस्तखत रहेको शाखा अधिकृत प्रतिक राईद्वारा हस्ताक्षर गरिएको च.नं. ५४१ मिति २०७७/५/७ को पत्रमा पुजारी हत्याको विरोध गर्ने, खबरदारी गर्ने र मृत शरीरको आत्मा शान्तिको कामना गर्दै दिप प्रज्वलन गर्ने गराउने सबैलाई नियन्त्रणमा लिनु भनि सबै जिल्ला प्रशासन र नेपाल प्रहरी मातहतका कार्यालयहरुमा पत्राचार गरेको प्रति हामी तपसिलका धार्मिक संघ संस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको छ । यसले समग्र सनातन धार्मिक क्षेत्र प्रति सरकार निरंकुश भएको प्रतित भएको छ। उक्त पत्रमा उल्लेख गरिएको विषय प्रति हामी घोर विरोध गर्दछौं । निरपराध धार्मिक सन्तको हत्यामा राज्य आफै संवेदनशील भएर न्याय दिनुपर्नेमा उल्टै न्याय माग गर्ने समूहलाई कुदृष्टि राख्ने राज्यको कस्तो नीति हो ? कतै यो घटनालाई राज्यले निष्पक्ष छानबिन गर्दैन कि भन्ने आशंका जन्माएको छ । यस सम्बन्धमा गृहमन्त्रीको स्पष्ट जवाफ सहितको संवोधन हुन जरुरी छ । अपराधी तत्काल सार्वजनिक गरि पीडितलाई न्याय दिन जोडदार माग गर्दछौं । साथै संविधानले नै सनातन धर्मको रक्षा गर्ने प्रतिवद्धता गरेको मर्म अनुरुप नेपाली धार्मिक समाजलाई समुचित व्यवहार गर्न आग्रह गर्दछौं । मृतक पूजारी साहलाई धार्मिक शहीद घोषणा गरि परिवारलाई उचित राहत प्रदान गर्न माग गर्दछौं साथै देशका सबै मठमन्दिरका पूजारी, पण्डित पुरोहित, धर्मगुरु ,धार्मिक अभियन्ताहरुको सुरक्षामा संवेदनशील हुन सरकार र सुरक्षानिकाय सँग जोडदार माग गर्दछौं ।
मृतक पुजारिलाइ धार्मिक सहिद घोषणा गर्न ११ धार्मिक संस्थाको माग,घटना प्रती गम्भीर हुन सरकारलाइ आग्रह