१८ फागुन, बाँके । कोभिड १९ महामारीले गर्दा बर्दिया जिल्लाको दुईवटा नगरपालिकाका अतिप्रभावित र अतिविपन्न घर परिवारलाई बाँके युनेस्को क्लबले प्रिपेड कार्ड मार्फत सहयोग प्रदान गरेको छ ।
बेलायत सरकार सहायता नियोग डीएफआइडीको आर्थिक सहयोग र मर्सि कोर तथा प्लान इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा बर्दियाको राजापुर र बारबर्दिया नगरपालिकाकामा सञ्चालन गरिएको रिजिलियन्स प्लस कार्यक्रमको दोस्रो चरणको कार्यक्रम अन्तर्गत सोमवार सो सहयोग वितरण गरिएको हो ।
कोभिड १९ का कारण अत्याधिक प्रभावित भै समस्यामा परेका अतिविपन्न परिवारलाई आधारभूत खाद्य र अन्य आवश्यकताका लागि पहिलो किस्ता वापत प्रति परिवार १० हजार २५० रुपियाँ बराबरको सहयोग गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । दोस्रो किस्तामा पनि सोही बराबरको रकमको कार्ड वितरण गरिनेछ ।
उहाँले सो कार्यक्रमको दोस्रो चरणमा राजापुर नगरपालिकाको वडा नम्बर १ र २ तथा बारबर्दिया नगरपालिकाको वडा नम्बर ३ र ११ मा वडा कार्यालयहरुको समन्वयमा अतिप्रभावित तथा अतिविपन्नको छनोट गरि ८३३ घर परिवारलाई सहयोग वितरण गरिने जनाउँदै सोमवार राजापुर २ र बारबर्दिया ३ का २४१ परिवारलाई सो सहयोग प्रदान गरिएको बताउनुभयो ।