यो वर्षको साउनदेखि पुससम्मको अवधिमा सबैभन्दा धेरै बजेट खर्च पोखरा क्षेत्रीय विमानस्थल निर्माण आयोजनामा भएको छ।
अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु वर्षको छ महिनामा राष्ट्रिय गौरवका आयोजनामा सबैभन्दा धेरै खर्च पोखरा विमानस्थलमा भएको हो।
चिनियाँ कम्पनीले जिम्मा लिएको उक्त विमानस्थल निर्माणको काम देशकै द्रुत आयोजनामा पर्न सफल भएको छ।
पहिलो छ महिनामा प्राय आयोजनामा थोरै खर्च हुने तर अन्तिममा गएर धेरै भुक्तानी देखाउने गरिएको छ। तर केही आयोजनामा सन्तोषजनक काम भएको छ।
इन्जिनियरिङ, खरिद,निर्माण तथा वित्तीयकरण (इपिसिएफ) मोडलमा निर्माण भइरहेको यो आयोजनाको सुरुवाति लागत २२ अर्ब रहेको छ। सन् २०२१ को जुलाइसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने ठेक्का सम्झौता छ।
यो आयोजनामा गएको वर्षसम्म १० अर्ब ३४ करोड खर्च भइसकेको छ। चालु वर्षका लागि १० अर्ब ७५ करोड विनियोजन भएकोमा पुससम्म ५ अर्ब ६ करोड खर्च भएको हो।
मन्त्रायकाअनुसार पोखरा विमानस्थलमा हालसम्म १५ अर्ब ४० करोड रुपैयाँ खर्च भएको छ। अबको बाँकी समयमा ५ अर्ब ७० करोड खर्च हुन बाँकी रहेको छ।
आयोजनामा हालसम्म २५ सय मिटर लामो धावन मार्ग निर्माण भएको, ट्याक्सी वे र एप्रोन, ह्यांगर जस्ता भौतिक संरचना निर्माण भइसकेका छन्। टर्मिनल भवन तथा अन्य आवश्यक भवनहरु पनि सबै निर्माण भइसकेका छन्।
विमानस्थल निर्माण आयोजनाका अनुसार यसमा अब उपकरण जडानको काम बाँकी रहेको छ। अहिले उपकरण खरिद गरेर ल्याउने तथा जडानको काम गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदिप अधिकारीले जानकारी दिए।
‘१४ वटा नयाँ भवन सबै निर्माण सकियो। त्यसको फिनिसिङको काम हुँदै छ। अब विमानस्थलमा प्राविधिक उपकरणहरुको जडानको काम बाँकी रहेको छ। यही गतिमा काम अघि बढे यही आर्थिक वर्षभित्र आयोजनाको निर्माण सम्पन्न हुने छ’ अधिकारीले भने।
अधिकारीले यही वर्षभित्र सम्पन्न हुने भनेपनि त्यति सजिलो भने छैन। उपकरण सबै आएपछि पनि जडानका लागि कम्तिमा ५ महिनाको समय लाग्ने प्राविधिकहरुले बताउँदै आएका छन्। पोखरामा सबै उपकरण आइसकेका छैनन्।
यदि चिनियाँ ठेकेदारले उपकरण ल्याएर जनशक्ती एकैपटक बढाएको खण्डमा तोकिएकै समयमा काम सकिने उनीहरुको भनाइ छ।साभार: सेतोपाटी