रवि प्रकाश कसौधन, कपिलवस्तु:
लुम्बिनी प्रदेशका मुख्यमंत्री शंकर पोख्रेललाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा बिदाको माग गर्दै ज्ञापन पत्र बुझाईएको छ । बिहीवार कपिलवस्तुको कृष्णनगर भंसार–नाका अवलोकन गर्न आएका मुख्यमन्त्री पोख्रेललाई राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य श्यामकुमार मिश्रको नेतृत्वमा प्रेमशंकर शुक्ल लगायतको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नेपाल सरकारद्वारा भव्यरूपमा मनाउन र उक्त दिन सार्वजनिक विदा घोषणाको माग गरिएको उल्लेख छ । त्यस्तै कृष्णनगरको लिङ्कगेटमा निर्माणाधीन रहेको प्रवेशद्वार निर्माणकार्य पुरा गर्न रकम निकासा गर्न प्रवेशद्वार निर्माण समितिले ध्यानाकर्षण गराएको छ ।
कृष्णनगरमा मुख्यमन्त्रीले राजनीतिक दलका नेता, कार्यकर्ता, व्यापारी, उद्योगी, कर्मचारी लगायतसंग भेटघाट तथा छलफल गरेका थिए । छलफलमा सरोकारवालाहरुले आ–आफ्नो समस्याको बारेमा ध्यानाकर्षण गराएको छ ।