मदिरा सेवन गरेर मातिएका एक जनाले हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन् । पार्किङ्ग गरेर राखिएको गाउँपालिकाको गाडी तोडफोड गरिएको छ ।
छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिका–४ का लक्ष्मण मल्लले मदिराको मातमा गाडी तोडफोड गरेको गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाले जानकारी दिइन् ।
मदिराले लठ्ठ मल्लले कर्णाली प्रदेश ००१ झ ००९७ नम्बरको गाडी तोडफोड गरेको बताइएको छ । गाउँपालिकाको वडा नम्बर २ महिला खोलामा पार्किङ गरेर राखिएको गाडी मदिराले मातिएका मल्लले ढुङ्गा प्रहार गरी सिसासहित अन्य भाग फुटाएका हुन् ।
मल्लसँग गाउँपालिकाको कुनै रीसइबी र चिनजानसमेत नभएको तर गाउँपालिका नजिकैको सडकमा पार्किङ गरिएका ठाउँमा एक्कासि आएर तोडफोड गरेको उपाध्यक्ष बुढाले बताए ।
मदिराका मातमा रहेका मल्लले छप्रेला प्रहरीमा रहेका दुई कुर्सीसमेत भाँचेका छन् । अभियुक्त मल्ललाई छप्रेला र मैला प्रहरीचौकीले नियन्त्रणमा लिएर सरदुकाम सिमकोट ल्याउँदै गरेको उपाध्यक्ष बुढाले जानकारी दिइन् ।