भैरहवा । कोभिड-१९ समुदाय स्तरमा फैलिँदै गएपछि अहिले रुपन्देहीका सबै स्थानिय पालिकाहरु लकडाउनमा गएका छन् । कोरोनाले रुपन्देहीका सबै पालिकाहरुमा आफ्नो पकड जमाइसकेको छ । फलस्वरुप कोभिड-१९ को संक्रमणबाट ओमसतिया गाउँपालिका पनि अछुतो रहन सकेन ।
कोरोना भाइरस समुदाय स्तरमा फैलिएको निष्कर्ष सहित ओमसतिया गाउँपालिकाले गत साउन ३० देखि गाउँपालिका क्षेत्रभर लकडाउन घोषणा गरेको छ । गाउँपालिकाले जारी गरेको सूचनामा बैङ्क तथा वित्तीय , सहकारी संस्थाहरुले तालिका बनाई गाउँपालिकाको स्वीकृति लिएर मात्रै सञ्चालन गर्न पाउने भनि निर्देशन दिएको थियो ।
तर छिमेकी पालिकाहरुले बैङ्क तथा वित्तीय संस्थाहरुमा कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै बैङ्क तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा बन्द गरेका छन् । छिमेकी पालिकाहरुले बैङ्क तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा बन्द गरेसँगै ओमसतिया गाउँपालिकामा रहेका बैङ्क तथा वित्तीय संस्थाहरुको शाखामा थामिनसक्ने भिड बढ्दै गएसँगै पुन: साउन ३२ गते अर्को सूचना जारी गर्दै बैङ्क तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सम्पुर्ण सेवाहरु बन्द गर्ने निर्देशन सहित गाउँपालिकाले निर्णय गरेको छ ।
गाउँपालिकाको उक्त निर्देशन पालिकाबासी तथा केही बैङ्क तथा वित्तीय संस्थाहरुले पालना नगर्दा कोरोना संक्रमणको जोखिम झन् बढ्ने सम्भावना देखिन्छ । पालिकाको निर्देशनलाई वेवास्ता गर्दै छिमेक लघुवित्त विकास बैंक मंगलापुर शाखाले ओमसतिया गाउँपालिकाको विभिन्न ठाउँहरुमा नियमित मासिक बैठक सञ्चालन गर्दै आएको छ ।
आज मात्रै ओमसतिया गाउँपालिका वडा नम्बर ३ फर्साटीकरमा नियमित मासिक बैठक सम्पन्न गरेको हो । गाउँपालिकाले कुनै पनि सभा सम्मेलन तथा बैठकहरू नगर्न/नगराउन दिएको निर्देशन विपरित किन बैठक गरिएको भन्ने प्रश्नमा छिमेक लघुवित्त विकास बैंकको केन्द्रीय कार्यालयको निर्देशन अनुरुप नै बैठक गर्न बाध्य भएको मंगलापुर शाखामा कार्यरत कर्मचारीले बताइन् ।
यस्तै गाउँपालिकाले खाद्य किराना पसलहरु दिउँसो १२ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै खोल्न पाइने भनि निर्णय गरेको भएपनि करुवानी, ठुटिपिपल, बसन्तपुर तथा ग्रामीण बस्तीहरुमा भीडभाड सहित किराना पसलहरु विगतको सामान्य अवस्था जस्तै अहिले पनि एकाबिहानै देखि निर्वाध रुपमा खुल्ने गरेका छन् ।
यस विषयमा ओमसतिया ईलाका प्रहरी कार्यालयका प्रमुख प्रकाश शाहीले- अनावश्यक भिडभाड हुन नदिन तथा गाउँपालिकाले बन्देज गरेको समयमा खोलिएका पसलहरु बन्द गराउन हामी निरन्तर फिल्डमै रहेको जानकारी दिए । उनले कोरोना भाइरस नियन्त्रणमा गाउँपालिकाले जारी गरेको निर्देशन(आदेश) सबैले पालना गरे मात्रै लकडाउन सार्थक हुने बताए ।