२६ दिनदेखि अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य गम्भीर बनेको छ।
उनको मुटुको चाल अनियमित रहेको, धड्कन असन्तुलित रहेको भन्दै चिकित्सकले कुनै पनि बेला मुटुको चाल रोकिएर हृदयाघात हुने जोखिम रहेको औंल्याएका छन्।
शुक्रबार केसीको उपचारमा संलग्न चिकित्सक सुवासप्रसाद आचार्यले स्वास्थ्य बुलेटिन जारी गरी केसीको स्वास्थ्य अत्यन्तै गम्भीर रहेको जनाएका हुन्।
उनलाई कुनै पनि बेला इच्छाविपरीत औषधी दिनुपर्ने अवस्था आउने बुलेटिनमा जनाइएको छ।
यस साथै उनलाई छाती दुख्ने, थकान हुने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने समस्या छ। उनको दायाँ छातीमा निमोनियाको लक्षण देखिएको छ।
‘थोरै बोल्दा पनि सास फेर्न गाह्रो हुने समस्या छ। आज करिब १:१५ बजे सास फेर्न गाह्रो भयो। साधारणतया सामान्य मानिसमा अक्सिजनको मात्रा ९६/९७ देखि १०० प्रतिशत हुनुपर्छ, तर उहाँमा अक्सिजन नलगाइको अवस्थामा ८६/८७ प्रतिशत छ,’ बुलेटिनमा भनिएको छ।
केसीको रगतमा सेतो रगतको मात्रा अत्यन्तै कम छ। उनको रगतमा सुगरको मात्रा पनि कम छ। रगतमा सोडियम, पोटासियम, क्याल्सियम र फोस्फोरस अत्यन्तै कम रहेका कारण इन्फेक्सन हुने जोखिम बढेको बुलेटिनमा जनाइएको छ।
छातीको उनको सिटिस्क्यान र एक्सरे गरिएको छ। उनको रक्तचाप घटेर ९०/४०, कहिले ११०/६० हुने गरेको छ। 
उनले आज कुनै पनि परीक्षण गर्न मानेका छैनन्, जसकारण केसीको ज्यान थप जोखिममा रहेको चिकित्सकको भनाइ छ।