देबचुली,असोज १५ गते । नवलपरासी पूर्व (नवलपुरको) देवचुली नगरपालिका–६ मुण्डेमा बिहिबार दिउसो ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले दिनुभएको जानकारी अनुसार दलदलेबाट धैवादी तर्फ जादै गरेको लु २ त ५४०६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टिदा ट्याक्टर चालक देवचुली–९ का २८ वर्षीय किरण गुरुङको मृत्यु भएको हो । अन्य दुई जना गम्भीर घाईते भएका छन् । ट्याक्टर अनियन्त्रित भई सडकबाट २० फिट तल खेतमा पल्टिदा ट्याक्टर चालक देवचुली न.पा. वडा नं. ९ बस्ने बर्ष २८ को किरण गुरुङ, सोही ट्याक्टरमा सवार रहेका देवचुली न.पा. वडा नं. ९ बस्ने बर्ष १८ को बिक्रम तामाङ र सोही स्थान बस्ने बर्ष ५३ को धन बहादुर तामाङ घाईते हुनुभएको थियो । दुर्घटनामा गम्भीर घाईते भएकाहरुलाई उपचारको देवचुली अस्पताल प्रालि लगिएकोमा चालक किरण गुरुङलाई थप उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको थियो । उहाँलाई जिल्ला अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको खाँणले बताउनुभयो । दुर्घटनामा गम्भीर घाईते हुनुभएका अन्य दुई जनाको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।
नवलपुरमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु, दुई जना गम्भीर