बुटवल । संविधान दिवसको दिन संविधान पुनर्लेखनको मागसहित राष्ट्रिय जनमुक्ति पार्टी ५ नं. प्रदेश समिति (लुथुम) ले बुटवलमा खबरदारी तथा विरोध प्रदर्शन गरेको छ ।
नेपालको संविधान २०७२ मा आदिवासी जनजातिका मागहरुलाई वेवास्ता गरिएको र ती मागहरुलाई संवोधन गर्ने गरी संविधान पुर्नलेखनको माग गर्दै जनमुक्ति पार्टीले कालो झण्डा र व्यानरसहित विरोध तथा खबरदारी सभा गरेको हो ।
मधेशी, मुस्लिम, दलित, आदिबासी जनजाती लगायतको हकअधिकार तथा मागहरुलाई समावेश नगरि बनाइएको संविधान आफुहरुलाई स्वीकार्य नरहेको बताउँदै राष्ट्रिय जनमुक्तिका उपाध्यक्ष कमला थापाले संविधान पुनर्लेखन हुनुपर्ने माग गरिन् । उनले संविधानमा धेरै त्रुटीहरु रहेको उल्लेख गर्दै त्यसमा रहेका त्रुटीहरुलाई सच्याउन संशोधनले मात्रै नपुग्ने भएकोले संविधान पुनर्लेखन नै अन्तिम विकल्प रहेको बताइन् ।
राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश ५ का अध्यक्ष झमबहादुर गुरुङ्ग, प्रदेश सहसचिव चित्रप्रसाद गुरुङ्ग, पुर्व सैनिक संगठनका अध्यक्ष क्या. भिमबहादुर राना तथा रुपन्देही जिल्ला अध्यक्ष प्रेम थापा लगायतले बोल्दै संविधान पुनर्लेखन गरेर सबैका अधिकार सुनिश्चित नगरेसम्म आफूहरुको संघर्ष जारी रहने र संविधान दिवस नमनाउने बताए ।