काठमाडौं । नेपालमा निरन्तर उकालो लाग्दो क्रममा रहेको कोरोना भाइरस संक्रमितको संख्या ५० हजार नाघेको छ । बिहीबार पछिल्लो २४ घण्टामा १२ सय २६ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५० हजार नाघेको हो ।
११ हजार १ सय ४४ जनामा गरिएको पीसिआर परीक्षणमा १२ सय ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यससँगै कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।
त्यस्तै सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार १० जना रहेका छन् भने होम आइसोलेसनमा ६ हजार ४३८ जना रहेका छन् । त्यस्तै १ सय ६५ जना संक्रमित विभिन्न अस्पतालको आईसीयूमा उपचाररत रहेका छन् भने २१ जना भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
बिहीबार देशभरबाट १८ सय १८ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म ३७ हजार ७ सय जना संक्रमित निको भैसकेका छन् । यो कुल संक्रमितको ७१ प्रतिशत हो । संक्रमित थपिने भन्दा संक्रमित निको हुने दर बढेको छ ।