भैरहवा । रुपन्देहीमा लकडाउनको मोडालिटी फेरिएसँगै भोलिदेखि लकडाउन खुकुलो हुने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले हिजो पेश गरेको सिफारिस तथा जिल्ला सुरक्षा समितिले आज गरेको निर्णय अनुसार विगतको तुलनामा लकडाउन केही खुकुलो हुने भएको हो ।
कोभिड नियन्त्रण तथा जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णय आज भदौ २० गते रातीदेखि २८ गते राति १२ बजेसम्म कायम रहनेछ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थबाट जारी सूचना अनुसार व्यापार व्यवसाय बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाउने भएका छन् भने दैनिक उपभोग्य वस्तु र सेवासँग सम्बन्धित क्षेत्रहरु बिहान ९ बजेसम्म र बेलुका ५ बजे देखि बेलुका ७ बजेसम्म सञ्चालन हुन पाउने भएका छन् ।
यस्तै सरकारी कार्यालयहरुमा भीडभाड नहुने व्यवस्था मिलाएर सुरक्षा तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहको व्यवस्था मिलाउन भनेको छ । बैंक तथा वित्तिय संस्थाहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाएर नियमित सेवा दिनसक्ने प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताए । प्रशासनले उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्डविपरीत श्रमिक तथा कामदार ओसारपसार गर्न पनि नपाउने भनेको छ ।
विभिन्न नाका प्रयोग गरेर गैरकानुनी रुपमा नेपाल भारत आउनजान पनि रोकेको छ । तर बेलहिया नाकाबाट हुने आवतजावतलाई भने नेपाल सरकारले तोकेबमोजिम हुने भनेको छ । जिल्लाभित्र सरकारले अनुमति दिएका बाहेक कुनैपनि गाडी चलाउन पाइनेछैन । मुख्य राजमार्गमा चल्ने अत्यावश्यक गाडी भने चल्न पाउनेछन् । यस्तै अत्यावश्यकीय वस्तु र सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, सूचना सञ्चार, कार्यालय आउने जाने गाडी लगायतका क्षेत्रका गाडी भने चल्न पाउनेछन् ।
सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, हाटबजार, सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, सैलुन, ब्युटी पार्लर, समूहमा खेलिने खेलकुद, पूस्तकालय, संग्रहालय, स्पा, स्विमिङ पुल, मनोरञ्जनस्थलहरु भने बन्द रहनेछन् ।