बुटवल । महिला तथा बालबालिका हिंसा विरुद्ध एवं विभिन्न सामाजिक कार्यमा सक्रिय संस्था मेची महाकाली बुहारी संयुक्त आवाज रुपन्देही शाखाले आफ्नो पहिलो वार्षिकोत्सव बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोगसँगै वृक्षारोपण गरि मनाएको छ ।
वार्षिक उत्सवको अवसरमा संस्थाले रुपन्देहीको सैनामैना नगरपालिका-१ स्थित पर्रोहा प्रमेश्वर माविमा अध्ययन गर्ने सोही ठाउँका ४ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको हो ।
आमा गुमाएका ती बालबालिकाका बुबा दृष्टीबिहीन छन् । आर्थिक अवस्था कमजोर भएका कारण बिचमै पढाई छाड्नुपर्ने अवस्थामा पुगेका उनीहरुलाई नगद सहित आवश्यक पर्ने कापी कलम, लगाउने कपडा हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । संस्थाको पहिलो वार्षिक उत्सव तथा केन्द्रिय अध्यक्ष येमु शर्मा सुब्बाको जन्मदिनको अवसरमा कार्यक्रम आयोजना गरीएको हो ।
मेची महाकाली बुहारी संयुक्त आवाज रुपन्देही संयोजक लता खड्काको अध्यक्षता तथा पर्रोहा प्रमेश्वर माविका प्राचार्य नेत्रलाल पुरीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सैनामैना मावीका शिक्षक अमृता बस्याल, बरिष्ठ कानुनि सल्लाहाकार सिमा बन, कृती बेल्बासे लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम सफल बनाउन संस्थाका केन्द्रिय अध्यक्ष येमु शर्मा सुब्बा र रूपन्देही संयोजक लता खड्काले थप आर्थिक सहयोग गरेका थिए । अमृता राना जिसीको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कल्पना गौडेलले गरेकी थिइन् । संस्थाले यसअघि पनि विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ ।