सात राष्ट्र सम्मिलित लिग २ को अंक तालिकामा २७ खेलमा २४ अंकसहित छैटौं स्थानमा नेपाल, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न बाँकी ९ मध्ये ६ खेलमा जित आवश्यक ! फागुन ७ । नेपालले विश्वकप लिग २ मा जितको ह्याट्रिक गरेको छ । नामिबियामाथि शनिबार ३ विकेटको विजय हात पार्दै नेपालले लगातार तेस्रो खेल जितेको हो । जितसँगै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिने आशा बढेको छ ।विश्वकप छनोटको आधार रहेको लिग २ मा नेपालले लगातार तीन खेल जितेको यो पहिलो पटक हो । यसअघि लिग २ का आधा दर्जन शृंखलामा नेपालले २ खेलभन्दा बढी जित्न सकेको थिएन । नेपालले यस शृंखलाका तीनै खेल २ सय ७० रनभन्दा माथिको चुनौतीमा जितेको छ ।नामिबियाविरुद्ध पहिलो खेलमा २ सय ८६ रन बनाएर जित हात पारेको नेपालले शुक्रबार लिग २ च्याम्पियन बनिसकेको स्कटल्यान्डलाई २ विकेटले पराजित गर्दा २ सय ७५ रनको लक्ष्य पार गरेको थियो । तेस्रो खेलमा शनिबार नामिबियाविरुद्ध नेपालले २ सय ७५ रनको लक्ष्य १५ बलअघि २ सय ७८ रन बनाएर पूरा गर्यो ।सात राष्ट्र सम्मिलित लिग २ को अंकतालिकामा नेपाल २७ खेलमा २४ अंकसहित छैटौं स्थानमा छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न नेपालले बाँकी ९ मध्ये ६ खेल जित्नुपर्नेछ । लगातार तेस्रो खेलमा पराजित नामिबिया ३३ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा छ । लिग २ को शीर्ष तीन टोली विश्वकप छनोटमा पुग्नेछन् भने शीर्ष ५ टोलीले एकदिवसीय मान्यता कायम राख्नेछन् । नेपालले मंगलबार स्कटल्यान्डसँग शृंखलाको अन्तिम खेल खेल्नेछ ।
लगातार तेस्रो जितपछी नेपालको एकदिवसीय मान्यता कायम रहने संभावना बलियो