भैरहवा । "स्वार्थ भन्दा माथि सेवा" भन्ने मुल नारालाई आत्मसात गर्दै कोभिड -१९ को महामारी विश्वव्यापी भइरहेको र पछिल्लो समयमा नेपालमा समेत यसको प्रभावलाई मध्यनजर गर्दै यस्तो विषम परिस्थितिमा पनि रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले कोरोना नियन्त्रणका लागि स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
पछिल्लो समय कोभिड–१९ को संक्रमण समुदाय स्तरमा पुगेपछि रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले सिद्धार्थ राजमार्ग अन्तर्गत बुद्धचोक देखि बेलहिया नाकासम्म पर्ने विभिन्न आकाशे पुल र साथै बेलहिया भन्सार कार्यालयका विभिन्न स्थानहरुमा सचेतना मुलक विभिन्न ठुला-ठुला व्यानर लगाएर सामाजिक तथा विषम परिस्थितिमा उदाहरणीय कार्य गरेको हो ।
सेन्ट्रल लुम्बिनीले सर्वसाधरणहरुलाई सचेत गराउनका लागि माक्स अनिवार्य लगाउनुपर्ने, सामाजिक दुरि कायम राख्नुपर्ने, साबुन पानीले हात धुनुपर्ने, सेनेटाइजरको प्रयोग गर्नुपर्ने, नमस्ते गर्ने बानी विकास गर्ने र भिडभाड नगर्न/नगराउन भन्दै सचेतना मुलक सन्देशहरु ब्यानरमा उल्लेख गरिएको रोट्रयाक क्लब अफ सेन्ट्रल लुम्बिनी वर्ष २०२०/२१ का अध्यक्ष रो. बाबुराम खनाल (अतीत) ले जानकारी दिनुभयो ।
क्लबले भैरहवा क्षेत्रका विभिन्न चोकचोकका आकाशे पुलहरुमा लगाईएको सचेतना मुलक ब्यानरहरुमा सबैको आँखा पर्ने हुँदा सचेतनामूलक ब्यानरहरुले मानिसहरुलाई माक्स लगाउन र सामाजिक दुरि कायम राखेर मात्र घर बाहिर निस्कने जस्ता कुराहरुको जानकारी दिने भएकाले बाटोमा हिड्ने सर्वसाधारणलाई ती कुराहरु आत्मसात गरी सावधानी अपनाउने कुरामा विश्वस्त रहेको क्लबका सचिव सुमित कसौधनले बताउनु भयो ।
क्लबका अध्यक्ष खनालले समाज सेवामा आफ्नो अभियानलाई निरन्तर राख्ने प्रतिवद्धता व्यक्त गर्दै यस्ता कार्यमा क्लबका सम्पूर्ण सदस्यहरुले विशेष सहयोग गरेकोमा सदस्यहरु प्रति आभार प्रकट गर्नुभयो । साथै उनले रोट्रयाक्ट क्लबको मुल मर्मअनुसार क्लबले आफ्नो सामाजिक गतिविधिहरुलाई आउने दिनहरुमा पनि सक्रियताका साथ अगाडि बढाउने बताउनुभयो ।


