संजय कुशवाहा /नवलपरासी ९ भदौ । पश्चिम नवलपरासीको विभिन्न ठाउँबाट ७ लाख ४६ हजार मुल्य बराबरको अवैध खसी, बोका, जर्सी गाई तथा मालसामान प्रहरीले बरामद गरेको छ । प्रहरीले बुधबार बिहान सुनवल नगरपालिका वडा नं. ७ ज्यामिरे स्थितबाट अंन्दाजी ७ लाख ४६ हजार ७ सय ५० मुल्य बराबरको अवैध खसी, बोका, जर्सी गाई तथा बिभिन्न मालसामान बरामद गरेको छ । भन्सार छली अवैध रुपमा ल्याउदै गरेको २७ जिउ खसी, बोका अस्थायी प्रहरी पोष्ट ज्यामिरेबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । बरामद खसी, बोकाको अन्दाजी मुल्य ४ लाख ५ हजार बराबर रहेको छ । यसैगरी भारतबाट नेपालतर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको कुर्ता सुरवाल, लेडिज टप्स, साडी लगायतका बिभिन्न कपडा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं. ४ टि.सि.एन. चोकबाट बरामद गरेको छ । बरामद कपडाको अन्दाजी मुल्य २ लाख ७१ हजार ७ सय ५० बराबर रहेको छ । यसैगरी प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं. ५ सितलापुर स्थितबाट बाच्छो सहितको जर्सी गाई नियन्त्रणमा लिएको छ । उक्त जर्सी गाई भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि गाई छाडी मानिस भागेका थिए । उक्त गाईको अन्दाजी मुल्य ७० हजार बराबर रहेको छ । उक्त बरामद भएका खसी,बोका,जर्सी गाई र सम्पुर्ण मालसामानहरु आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बताएको छ ।
प्रहरीद्वारा ७ लाख बढीको खसी,बोका,जर्सी गाई तथा मालसामान बरामद