खगेन्द्र पराजुली, २७ बैशाख, नवलपुर । गतसाल पहिलो कोरोना लहरका बेला संक्रमण रोकथाम–नियन्त्रण र ब्यवस्थापनमा नवलपुरमा उत्कृष्ट कार्य गर्ने नगरपालिकाको रुपमा देवचुली नगरपालिकालाई छनौट गरिएको थियो । गण्डकी सरकारले प्रत्येक जिल्लाका एक–एक पालिकालाई उत्कृष्ट घोषणा गरेको थियो । दोस्रो लहरको कोरोना संक्रमणका बेला आफु माथिका ठूला सरकारले कुनै किसिमको कार्ययोजना सार्वजनिक नगरेपछि अलमलमा परेका देशैभरका स्थानीय सरकारले संक्रमण बिरुद्ध के गर्ने के नगर्ने खासै मेसो पाएनन् । कडा खालको कोरोनाको दोस्रो लहर भुसको आगो झै भित्रभित्रै फैलियो । आफुखुशी परिक्षण गर्ने र पोजेटिभ आएपछि आफै आईशोलेसन बस्ने तर स्वास्थ्यमा गम्भीर स्थिति आए मात्रै संक्रमित पहिचान हुने नत्र संक्रमित गोप्य हुने अवस्थाले स्थानीय तहकै कोरोना नियन्त्रण–रोकथाम तथा ब्यवस्थापन समिति समेत बेखबर रहेको छ । परिणामतः बैशाख २० गते देवचुलीमा अप्रिय घटना भयो । बिरामीलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्स नपाएर ट्रयाक्टरमा लैजादै गर्दा एक जना कोरोना संक्रमितको मृत्यु भयो । कोरोना नियन्त्रणमा स्थानीय सरकारको असक्षमतामाथी प्रश्न चिन्ह खडा भयो । घटना सर्बत्र चासोको बिषय बन्यो । घटनापछि बल्ल धेरै स्थानीय तह ब्युँझिएका छन् । यसैबीच, देवचुली नगरपालिकाले घटनाको नैतिक जिम्मेवारी लिदै फेरी नगरवासीको स्वास्थ्यप्रति गम्भीर भएर लागेको छ । कोरोनाको दोस्रो लहरमा जिल्लामै पहिलो पटक देवचुली नगरपालिकाले पालिकास्तरबाट निशुल्क स्वाव संकलन गर्दै परिक्षणका लागि पठाएको छ । स्वास्थ्य शाखा देवचुलीका प्रमुख रामकुमार श्रेष्ठका अनुसार नगरपालिकाले ५ सय किट खरिद गरीसकेको छ । लक्षण सहितका र कन्ट्याक ट्रेसिङका ब्यक्तिहरुलाई प्राथमिकतामा राख्दै परिक्षणलाई नियमित गरिने जनाईएको छ । आज सोमवार प्रस्तावित दुम्कौली नगर अस्पतालमा ४४ जनाको स्वाव संकलन गरि परीक्षणका लागि मध्यबिन्दु जिल्ला अस्पताल पठाईएको छ । हप्ताको २ दिन स्वाव संकलन गर्ने नगर स्वास्थ्य शाखाले जनाएको छ । कुन–कुन बार गर्ने भन्ने किटान भने भैसकेको छैन । देवचुली नगरपालिकामा कोरोना संक्रमितलाई आकस्मिक अवस्थामा अस्पतालसम्म पुर्याउनु परेमा एउटा एम्बुलेन्स र आपतकालीन अवस्थामा उपयोगमा ल्याउन एक निजी बिद्यालयले प्रदान गरेको स्कुल भ्यान सहित २ वटा साधन तयारी अवस्थामा छन् । नगरपालिकाले नगर अस्पतालका ५ बेडको अक्सिजन सहितको आईशोलेशन र जनज्योति नमूना माबिमा ३१ वेडको आईशोलेसन ब्यवस्थापन गरेको छ । होम आईशोलेशनमा बसेका कोरोना संक्रमितको घरमा पुगेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने, ज्वरो, खोकी जस्ता सामान्य लक्षण भएकाका लागि दिनमिल्ने सिटामोल, कप सिरप जस्ता सामान्य र आवश्यक औषधि प्रदान गर्ने जस्ता गतिबिधि दैनिक सञ्चालन गरेको छ ।
नवलपुरको देवचुलिमा निशुल्क स्वाब संकलन सुरु