रुपन्देही -रुपन्देहीका थप तीन जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । बुटवलका दुई पुरुष र मायादेवी गाउँपालिकाकी एक महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा आज बिहान मृत्यु भएको हो ।
बुटवल–११ का ३१ वर्षीय पुरुषको बिहान २ः३० बजे, बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान २ः४५ बजे र मायादेवीकी ७२ वर्षीया महिलाको बिहान ३ बजे मृत्यु भएको हो ।
बुटवल–११ का पुरुषमा वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएपछि र सोही दिन अस्पताल भर्ना गरिएको थियो । बुटवल–१४ का पुरुषमा वैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी मायादेवीकी महिलामा वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएकामा ११ गते अस्पताल भर्ना गरिएको थियो । उता बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। तीमध्ये तीन जनाको एक घन्टाको अन्तरालमा मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका–४ का ६० वर्षीय पुरुष र कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिलाको एकै समयमा मृत्यु भएको हो । ६० वर्षीय पुरुषको गयराति ९ बजे भेरी अस्पताल नेपालगञ्ज र ४३ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।
त्यस्तै नेपालगञ्ज–९ का ४२ वर्षीय पुरूषको राति १० बजे ,बर्दियाको बढैयाताल गाउँपालिका –८ का ३२ वर्षीय पुरूषको बिहान साढे १ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । त्यस्तै नेपालगञ्ज–५ का ५५ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ। उनको आज बिहान साढे ५ बजेतिर मृत्यु भएको थियो। यस्तै सुर्खेतकी एक कोरोना संक्रमित महिलाले आज बिहान शिशुलाई जन्म दिएकी छन्।
भेरीगंगा–११ सुर्खेतकी २२ वर्षीया महिलाले बाँके स्थित कोहलपुर मेडिकल कलेजमा बिहान साढे ७ बजे छोरालाई जन्म दिएकी हुन्। आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।