खगेन्द्र पराजुली,
१३ बैशाख, नवलपुरः
दोस्रो लहरको कोरोना त्रासले नवलपुरमा बिद्यार्थी लगायत अभिभावक र शिक्षकसमेत शैक्षिक संस्थाका नियमित कार्यतालिकाका बिषयमा अन्यौलतामा छन् । बैशाख १२ गते आईतवार नेपाल सरकारको कोभिड १९ संकट ब्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) काठमाण्डौद्धारा जारी प्रेस विज्ञप्तिमा अर्को सूचना जारी नहुँदासम्म देशैभरका बिद्यालय तथा शिक्षालयमा भौतिक उपस्थितिमा हुने सबै किसिमका पठन–पाठनका क्रियाकलाप र हुने भनिएका सबै पुर्व निर्धारित परीक्षासमेत अर्को आदेश नहुँदासम्मका लागि स्थगित गरिएको सिसीएमसी संयोजक डा. खगराज बरालद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
यस्तै नवलपुरको सदरमुकाम कावासोती नगरपालिकामा रहेको शिव माविका एक बिद्यार्थीमा संक्रमण पुष्टि भएपछि आईतवार बसेको नगरस्तरीय विपत् ब्यवस्थापन समितिको बैठकले शुक्रवारसम्मका लागि ६ दिन बिद्यालय सहित सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । समितिले जारी गरेको सूचनामा बैशाख २० गतेबाट हुने वार्षिक परीक्षा यथावत् रहने गरि कोभिड जोखिमका कारण गरिएको बन्दलाई परीक्षा तयारीको बिदाको रुपमा सदुपयोग गर्न भनिएको छ ।
यता, आईतबारै सार्वजनिक गरेको जिल्ला प्रशासन कार्यालय नवलपुरको अत्यन्त जरुरी सूचनामा अर्को निर्णय नहुँदासम्म आज सोमवारदेखि सवै सामुदायिक एवं निजी–संस्थागत विद्यालय बन्द गर्न तथा पुर्व निर्धारित परीक्षाका कार्यक्रमहरु भने बैशाख २२ गतेभित्र सम्पन्न गर्न भनिएको छ ।
जिल्ला तथा स्थानीय तहबाट जसरी सूचना निकालिए पनि केन्द्रको निर्देशन अनुसार भौतिक उपस्थितिमा गरिने पठन–पाठन स्थगित गरि नवलपुरमा बिद्यालयहरु बन्द भएका छन् । बैशाख २० गतेदेखि हुने भनिएको परीक्षाको बिषयमा फरक–फरक धारणा आउँदा शिक्षक, विद्यार्थी र अभिभावक समेत अन्यौलमा छन् ।