देवचुली, “सिप सिकौँ आत्म निर्भर बनौँ” भन्ने मुल नाराका साथ देवचुलीमा गरिबी निवारणका लागि लघुउद्यम विकास तालिम सुरु भएको छ । देवचुली नगरपालिका नगर कार्यापालिकाको आयोजनामा १५ दिने एडभान्स गुडिया तथा कुशन बनाउने तालिम सुरु भएको हो । देवचुली नगरपालिकाका १७ वटा वडाका विभिन्न ४ ठाउँमा १ सय महिला दिदी बहिनीहरुको आर्थिक उपार्जनका लागि तालिम संचालन गरिएको हो । देवचुली नगरपालिका वडा नं ४ झाँक्रे, वडा नं ५ वडा कार्यालयमा, वडा नं ६ किर्तीपुर र वडा नं १० मा गरि ४ ठाउँमा महिला दिदीबहिनीहरुलाई १५ दिने एडभान्स गुडिया तथा कुशन बनाउने तालिम सुरु गरिएको छ । 
बुधबार देवचुली वडा नं ५ मा उक्त तालिमको समुद्घाटन भएको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत ९ लाख बजेटमार्फत देवचुलीमा १५ दिने एडभान्स गुडिया तथा कुशन बनाउने तालिम संचालनमा आएको देवचुली नगरपालिका आर्थिक विकास शाखा अधिकृत शिव सापकोटाले जानकारी दिनुभयो । उहाँले बिशेषगरि महिला दिदीबहिनीहरु खाली समयमा व्यवसायिक ज्ञान प्रदान गर्ने हेतुले साथै सिपमुलक तालिमले आर्थिक उपार्जनका लागि केही सहयोग होस भन्ने उद्धेश्यले तालिम सुरु गरिएको सापकोटाले बताउनुभयो ।
देवचुली ५ मा भएको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमको अध्यक्षता देवचुली वडा नं ५ का वडाध्यक्ष शिवलाल सापकोटाले गर्नुभएको थियो । यस किसिमको तालिमले महिलाहरुलाई रोजगारी तथा आत्मरक्षामा बृद्धि गराउने वडाध्यक्ष सापकोटाले जानकारी गराउँदै तालिम सिकेपछि सहि ठाउँमा सदुपयोग गर्न अनुरोध गर्नुभएको थियो ।