पोखरा।मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पोखरामा एक जनाको ज्यान गएको छ । मोटरसाइकल चालक पर्वतको कुश्मा नगरपालिका – ७ चुवा निवासी ३२ वर्षीय माधव गिरीको ज्यान गएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । मंगलबार दिउँसो अन्दाजी १:०९ बजेको समयमा पोखरा–सराङकोट सडकखण्ड स्थित गुम्बा नजिकै मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार वर्ष ३२ कै गोविन्द गिरी घाइते हुन पुगेका छन् । उनको फिष्टेल अस्पतालमा उपचार भइरहेको छ । दुई जना ग १८ प ४८१४ नम्बरको मोटरसाइकलमा पोखरा आउँदै थिए । गुम्बा नजिक आइपुग्दा मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक गिरी घाइते भएपछि तत्काल उपचारका लागि सहारा अस्पताल भर्ना गरिएपनि उपचारका क्रममा उनको ज्यान गएको हो । घाइते गोविन्दको स्वास्थ्य अवस्था मध्यम रहेको वरिष्ठ प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पोखरेलको भनाई छ ।
मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु