बुटवल । तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को अडिसन शनिबार बुटवलमा सम्पन्न भएको छ । वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित मिस्टर एण्ड मिस थारु २०२१ को अडिसन बुटवलस्थित होटल द बुटवल भ्यु मा सम्पन्न भएको हो ।
दोस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०१८ का विजेता तथा कार्यक्रमका सभापति रविन चौधरीका अनुसार रुपन्देही, कपिलवस्तु, दाङ, नवलपरासी, नवलपुर लगायतका जिल्लाहरुबाट अडिसनमा २५ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो ।
उक्त अडिसनबाट नवलपरासीकी नेहा चौधरी, नवलपुरका निशान चौधरी, बुटवलकी सुष्मा थारु, अन्जु चौधरी, पुष्पा चौधरी, कपिलवस्तुकी सीमा थारु र दाङकी प्रतिभा चौधरी गरी ७ जना छनोटमा परेका छन् । अडिसन पश्चात छनौट भएका प्रतिस्पर्धीहरुलाई चितवनको सौराहामा चैत्र ७ गते हुने प्रतियोगिताको फाइनलका लागि काठमाडौंमा २५ दिनसम्म विभिन्न विधामा प्रशिक्षण गराइने छ ।
अडिसनमा मिस्टर एण्ड मिस थारु २०१८ का विजेता रविन चौधरी, नेपाल्स रोल मोडलकी विजेता प्रनिशा थापा, मिस्टर पश्चिमाञ्चल २०१९ का विजेता विशाल थापा मगर, मिस्टर एण्ड मिस थारु २०१८ टप ८ का फाइनलिस्ट विज्ञान चौधरी र पत्रकार एवं टिभी प्रस्तोता रोशनी कुँवरले निणार्यकको भूमिका निर्वाह गरेका थिए ।







मिस्टर एण्ड मिस थारु २०२१ को अडिसन सम्पन्न