विराटनगर — प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाले यसपालि विराट गोल्डकप फुटबल प्रतियोगिता कुनै हालतमा सञ्चालन गर्नुपर्नेमा गोल्डकप ट्रस्टका पदाधिकारीलाई दबाब दिन थालेका छन् । दुवै निकायले गोल्डकपलाई विराटनगरको पहिचानका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका हुन् ।
प्रतियोगिता सञ्चालनका लागि प्रदेश सरकार र महानगरपालिकाले आयोजक ट्रस्टलाई जुनसुकै सहयोग गर्न तयार रहेको उल्लेख गर्दै ट्रस्टले प्रतियोगिता नगरे महानगरपालिका प्रतियोगिता गर्न आफैं तयार रहेको जनाउ दिएको छ ।
प्रदेश सरकारका सामाजिक विकासमन्त्री हिक्मत कार्कीले ट्रस्टका पदाधिकारीलाई प्रतियोगिता कुनै पनि हालतमा आयोजना गर्न निर्देशन दिएको ट्रस्टका अध्यक्ष सन्तोष बानियाँले सुनाए । उनका अनुसार त्यसका लागि प्रदेश सरकारले आर्थिक सहयोगसहित मैदान व्यवस्थापनको जिम्मेवारी लिने आश्वासन दिएको छ ।
प्रदेश सरकारले ४ करोड २९ लाखको लागतमा सहिद मैदानमा रात्रिकालीन खेलकुद आयोजना गर्न फ्लडलाइटको व्यवस्था गरेको छ । एक साताभित्रमा ठेकेदारले फ्लडलाइटको परीक्षण गरेर सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । मन्त्रीले बिग्रिएको मैदान दुई साताभित्र मर्मत गरेर आफूहरूलाई हस्तान्तरण गर्ने आश्वासन दिएको अध्यक्ष बानियाँले बताए । प्रदेश सरकारबाट प्रतियोगिता गर्न करिब ५० लाख रुपैयाँ आर्थिक सहयोग पाउने ट्रस्टको आशा छ । महानगर प्रमुख भीम पराजुलीले पनि ट्रस्टका पदाधिकारीलाई प्रतियोगिता आयोजना नगरे महानगर आफैंले आयोजना गर्ने चेतावनी दिएका छन् ।
प्रतियोगिताका लागि महानगरले ट्रस्टलाई १५ लाख रुपैयाँ विनियोजन गरिसकेको छ । बाँकी भौतिक र प्राविधिक सहयोग गर्न महानगर तयार भएको उल्लेख गर्दै नगर प्रमुख पराजुलीले पदाधिकारीसँग भनेका छन्, ‘यति सहयोग गर्दा पनि तपाईंहरू (ट्रस्ट) ले प्रतियोगिता नगरे महानगर आफैंले आयोजना गर्नेछ ।’ विराट गोल्डकपलाई विराटनगरको पहिचानका रूपमा स्थापित गर्ने महानगरको लक्ष्य छ । पराजुलीले भने, ‘महानगर विराट गोल्डकप आयोजनाका लागि जस्तोसुकै सहयोग गर्न तयार छ ।’
प्रतियोगितालाई प्रायोजक र चन्दादाता खोजी दिन व्यक्तिगत रूपमा आफू तयार रहेको बताउँदै पराजुलीले आयोजक टिमका खेलाडीको व्यवस्थापनमा सहयोग गर्न पनि महानगर तयार रहेको दाबी गरेका छन् । आयोजक विराटनगर टिम बनाउन र टिममा राष्ट्रिय टोलीका खेलाडी समावेश गर्न ट्रस्टका पदाधिकारीलाई आग्रह गर्दै उनले आर्थिक व्यवस्थापनको जिम्मा महानगरले गर्ने आश्वासन दिएका छन् ।
‘आयोजकले राष्ट्रिय टोलीका खेलाडी राखेर उपाधि जित्ने टिम बनाउनुस्,’ प्रमुख पराजुलीले ट्रस्टका पदाधिकारीसँग भने, ‘विराटनगरको टिम ६ गोल खाने होइन, गोल्डकप नै जित्नुपर्यो, त्यसका लागि महानगरले आवश्यक आर्थिक सहयोग गर्नेछ ।’ कहिले मैदान र कहिले फ्लडलाइटको बहाना देखाएर दुई वर्षदेखि गोल्डकप हुन सकेको छैन । यसपालि सबै पक्षले साथ दिएको छ ।
ट्रस्टका अध्यक्ष बानियाँले भने चैत पहिलो साता प्रतियोगिता गर्ने लक्ष्य रहेको बताए । ‘सहिद मैदानमा फ्लडलाइट व्यवस्था भएको छ,’ उनले भने, ‘अबदेखि विराट गोल्डकप सधैं रात्रिकालीन हुनेछ ।’ महेन्द्र गोल्डकपको नाममा आयोजना हुँदै आएको यो प्रतियोगितालाई पछिल्लो समय ट्रस्टमा लगेर विराट गोल्डकपमा रूपान्तरण गरेर चौथो संस्करणसम्म आयोजना गरिएको थियो । ट्रस्टमा हाल १९ लाख रुपैयाँ मौज्जात रहेको सदस्य वसन्त अर्यालले जानकारी गराए ।साभार:कान्तिपुर