चोरमारा।डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहन प्रसाद काफ्लेले सामुदायिक वनले वनको दिगो व्यवस्थापनसंगै उपभोक्ताहरुलाई आयआर्जनसंग जोड्नुपर्ने बताउनु भएको छ । अम्रसा सामुदायिक वन उपभोक्ता समुहको छैठो साधारण सभा तथा तेस्रो अधिवेशनमा बोल्दै प्रमुख अतिथि काफ्लेले सामुदायिक वन समुहले वन संरक्षण, सम्बद्र्धन र सदुपयोग संगै विपन्न उपभोक्ताहरुको स्तर सुधारको लागि उनिहरुलाई आयआर्जनसंग जोड्नुपर्ने बताउनु भएको हो ।उहाँले सामुदायिक वनका विपन्न परिवारहरु विनियोजन गरिने बजेटको सहि सदुपयोग भएको खण्डमा उनिहरुको आर्थिक स्तर सुधारमा उल्लेखनिय टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । बैज्ञानिक वन व्यवस्थापन मार्फत भएको आम्दानीलाई सहि सदुपयोग गरेको खण्डमा वन व्यवस्थापन, सामाजिक बिकास र गरिवी निवारणमा सामुदायिक वनले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उहाँले बताउनुभयो ।बिशिष्ट अतिथि मध्यविन्दु–७ का वडा अध्यक्ष अमृत ज्ञवालीले सामुदायिक वन र वडाको समन्वयमा यस क्षेत्रको बिकास निर्माण र गरिवी निवारणको कामलाई अगाडी बढाउनु पर्ने बताउनुभयो ।सामुदायिक वन उपभोक्ता महासंघ मध्यविन्दु नगरपालिकाका अध्यक्ष हुमनाथ पाण्डेले सामुदायिक वनका पदाधिकारीहरुले मात्र वनको बारेमा सोचेर नपुग्ने बताउदै सहि सल्लाह, निर्णयका लागि उपभोक्ता संग पनि सार्वजनिक सम्पतिका बारेमा परार्मश लिन आवश्यक रहेको बताउनुभयो ।कार्यक्रममा समितिको बार्षिक प्रतिवेदन अम्रसा सामुदायीक वनका अध्यक्ष हरी ढुङ्गानाले प्रस्तुत गर्नुभएको थियो । यस्तै कोषाध्यक्ष राजु विष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा भागरा रानिटार सब डिभीजन वन कार्यालयका साहायक वन अधिकृत ठाकुर प्रसाद वाग्ले, विभिन्न सामुदायिक वनका अध्यक्ष एवम प्रतिनिधी, विभिन्न सघंसस्थाका प्रतिनिधि तथा उपभोक्ताहरुको उपस्थिती रहेको थियो । सस्थाका उपाध्यक्ष लालबहादुर मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव विष्णु थापाले गर्नु भएको थियो ।
अम्रसा सामुदायिक वनको छैठो साधारणसभा तथा तेस्रो अधिवेशन