नवलपुरः
स्वास्थ्य कार्यालय नवलपुरले चालु आर्थिक बर्षको प्रथम चौमासिक समिक्षा कार्यक्रम आयोजना गरेको छ । २ दिनसम्म कावासोतीमा चल्ने समिक्षा कार्यक्रमको पहिलो दिन आज बुधवार उद्घाटनका क्रममा जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले अहिले स्थानीय रुपमै पालिका स्वास्थ्य शाखामा आधारभुत स्वास्थ्य सेवाको जिम्मेवारी रहेकाले नागरिकको आवश्यकता अनुकुल हुने गरी सेवा सहितका कार्यक्रममा ध्यान दिन आग्रह गरिन् । उनले भनिन्– “नगरपालिकामै सहजीकरण गर्नुपर्छ, कतिपय अवस्थामा सेन्सिटाईज गर्नुपर्ने अवस्था हुनसक्छ, सचेतनाबाट बुझाउन सकियो भने प्रभावकारी हुन्छ होला ।” उनले भनिन् । सिडीओ पंगेनीले नवलपुरमा स्वास्थ्यका क्षेत्रमा मातृशिशु मृत्युदर, खोप सेवाको प्रभाव र बिस्तार, परिवार नियोजनका सेवा लगायत राम्रो रहेको बताईन् । काम गर्ने क्रममा कहिलेकाही आईपर्ने समस्यामा प्रशासनले गर्नुपर्ने सहजीकरण गर्ने बताईन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले प्रहरी र स्वास्थ्य संस्थाबीचको सम्बन्धलाई अझ निकट बनाउनुपर्ने सुझाव राखेका छन् । बिशेष गरेर घटना, दुर्घटना, पक्राउ परेका, अनुसन्धानका क्रममा नियन्त्रणमा राखिएका र कारागारमै रहेकाहरुको स्वास्थ्यमा समस्या आईपर्दाको अवस्थामा स्वास्थ्य संस्थाको छिटो–छरितो आवश्यकता पर्ने भएकाले समन्वकारी भूमिका बनाउनुपर्नेमा प्रहरी प्रमुख मल्ले जोड दिएका थिए ।
दुईदिनसम्म चल्ने कार्यक्रमको संक्षिप्त बिषयमाथी स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले बोलेका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय नवलपुरका तथ्याङ्क शाखा प्रमुख शिवशरण पराजुलीले गरेका थिए । जिल्लाका आठै पालिकाको साउनदेखी कार्तिकसम्मको चौमासिक स्वास्थ्य सम्वन्धि समीक्षा हुदैछ ।