भदौ ८,पोखरा ।नेपाली काङ्ग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले नेपाल सरकारले हालै कोरोना संक्रमितलाई आइसोलेसन र आईसियुमा भर्ना हुन स्वास्थ मन्त्रालयको सिफारिस अनिवार्य गर्ने निर्णय हास्यास्पद तथा दु:खद भएको बताएका छन।आज सामाजिक संजाल फेसबुकमा एक प्रेस नोट जारी गर्दै यस्तो बताएका हुन। आज बिहान जारी गरिएको सन्देशमा सरकार यस्तो कोरोना महामारीमा पनि जनताको स्वास्थ भन्दा पनि भस्ट्रचार र राजनैतिक स्वार्थ पूरा गर्न लागिरहेको इशारा गरेका छन।साथै अहिलेको यो विषम परिस्थितिमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी लगायतको भुमिका राज्य तथा आम नागरिकले बुझ्न जरुरी भएको भन्दै हिजो बानेश्वरमा स्वास्थकर्मी माथी भएको दुर्व्यवहारको घटनाप्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरेका छन। फेसबुकमा जारी सन्देश कोरोना भाइरस (कोभिड १९) को माहामारीले विश्व सगैं नेपाल पनि आक्रान्त भएको छ । संक्रमण समुदाय स्तरमा फैलिसकेको र यसबाट ज्यान गुमाउनेहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ । महामारीको अवस्थामा समेत भ्रष्टाचारमा लिप्त सरकार जनताको सेवा र सुरक्षालाई ध्यान दिनुको सट्टा राजनीतिक अभिष्ट पूरा गर्न सत्ताको राजनीतिक खेलमा सक्रिय छ । जनताले सरकार छ भन्ने कुराको अनुभुति नै गर्न आज सम्म पाएका छैनन । यस्तो गम्भीर अबस्थामा पनि सरकार मौन रहनु दुर्भाग्यपूर्ण छ । जटिल परिस्थितिमा फ्रन्ट लाईनमा बसी युद्धस्तरमा काम गर्ने स्वास्थ्यकर्मी , प्रहरी लगायतका सम्पुर्णलाई साथ र सहयोग गर्नु सरकारसंगै हरेक नागरिकको दायित्व हो । हिजो मात्रै बानेश्वर स्थित स्वास्थ्यकर्मीहरुको निवासमा भएको अमानवीय कार्य प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो अबस्था भनेको स्वास्थ्यकर्मीलाई दृढ आत्मविश्वासका साथ जनताको स्वास्थ्यमा ध्यान दिन प्रोत्साहन गर्ने बेला हो । स्वास्थ्यकर्मी तथा सुरक्षा निकायको सहयोग बिना कोभिड १९ विरुद्ध विजय प्राप्त गर्न असम्भव छ भन्ने कुरा सरकार लगायत आम नागरिकले बुझ्नु जरुरी छ । सरकारको कोरोना संक्रमितहरुको उपचारका लागि अस्पताल भर्ना गर्न समेत सम्बन्धित मन्त्रालयको सिफारिस चाहिने कुरा हास्यास्पद छ । यो निर्णय तुरुन्त सच्याउन समेत सरकार लाई हार्दिक आग्रह गर्दछु । आत्मबल बलियो बनाउँदै सामाजिक दुरी कायम गरि नियमित सरसफाई र खानपिनमा ध्यान दिँदै उच्च सजगता अपनाउन सबैमा अनुरोध गर्दछु । जय नेपाल
कोरोना संक्रमितको उपचारका लागि स्वास्थ मन्त्रालयको सिफारिस अनिवार्य गर्ने सरकारको निर्णय हास्यास्पद र दु:खद : महामन्त्री शशांक कोइराला