रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का २१ वर्षीय श्याम कुमार बनियालाई प्रहरीले श्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नियमित चेकचाँचका क्रममा बनिया भैरहवा बसपार्क नजिकै शान्तिनगर टोलबाट पक्राउ परेका हुन्। चेकजाँचको क्रममा भेटिएको रकमको श्रोत बनियाले खुलाउन नसकेपछि अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालयमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले बताए। प्रहरीले श्याम कुमारबाट २ वटा आइएमी नम्बर, १ थान मोबाइल समेत बरामद गरेको छ। लु ३९ प ४४५७ नम्बरको स्कुटरमा एक हजार दरका १०३५ थान र पाँच सयदरका १२३० थान गरि १६ लाख ५० हजार रुपैयाँ लिएर हिड्दै गर्दा प्रहरीले पक्राउ गरेको जनाएको छ।रुपन्देही प्रहरीले यसअघि श्रोत नखुलेको २४ लाख रकम सहित रुपन्देहीको सम्मरीमाईका प्रमोद गुप्तालाई गत बिहीबार पक्राउ गरेको थियो। त्यसको पर्सीपल्ट शनिबार बनिया श्रोत नखुलेको रकम सहित पक्राउ परेका हुन्। गुप्ता र बनिया दुबैजना भारतको सुनौलीबाट भैरहवातर्फ आउँदै गर्दा एउटै स्थानबाट पक्राउ परेका हुन्।
श्रोत नखुलेको साढे १६ लाख सहित भैरहवामा एकजना पक्राउ