दसैंको चटारो सकिएपछि पश्चिम नवलपरासीका किसान उखु काट्ने तरखरमा छन् । तर, यस वर्ष पनि उनीहरूलाई भाउ नपाइने हो कि भन्ने चिन्ता छ ।
समयमा नकाटे उखु फुलेर तौल कम हुँदै जान्छ । काटिहाले पनि चिनी उद्योगलाई उधारोमा दिनुपर्छ । भेली उद्योगलाई दिँदा मूल्य कम हुन्छ । तीन वर्षअगाडिकै उखुको भुक्तानी नपाउँदा उनीहरू यसै पीडामा छन् ।
जिल्लाका चिनी उद्योगले उखु किसानको रकम भुक्तान गरेका छैनन् । क्रसिङ सकिएर बजारमा चिनी बिक्री भइसक्दा किसानको १८ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । लुम्बिनी चिनी उद्योगले १० करोड र इन्दिरा सुगर मिलले ८ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसान समिति नवलपरासीले जनाएको छ । बक्यौता रकम नपाएपछि अघिल्लो वर्ष किसानले बागमती सुगर मिललाई मात्र उखु बिक्री गरेका थिए ।
पटकपटक बक्यौता उपलब्ध गराउन सहमति भए पनि उद्योगीले प्रशासन र किसानलाई टेरेका छैनन् । भुक्तानीका लागि किसानले पटकपटक सडक आन्दोलनसमेत गरेका छन् । तर, उद्योगीले चिनीको मूल्य सस्तो भएको, उद्योग घाटामा रहेको बहाना देखाउदै भुक्तानी रोक्ने गरेको समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । ‘भुक्तानीका लागि सहमति गरेर पनि बहाना बनाउने उद्योगीहरूविरुद्ध हामी अब संघर्षमा उत्रँदै छौं,’ उनले भने, ‘अब भोकै मर्नुभन्दा आन्दोलनमा उत्रने तयारीमा छौं ।’
उद्योग र जिल्ला प्रशासन कार्यालय धाउँदा पनि भुक्तानी नपाएपछि खेती लगाउँदा लिएको ऋण तिर्न नसकिएको सरावल–२ का बुद्धिबहादुर चौधरीले गुनासो गरे । ‘प्रशासनलाई नटेर्ने उद्योगीले हामीलाई के टेर्थे,’ उनले भने, ‘उखु नलगाऊँ, अरू खेती खासै हुँदैन । लगाऊँ समयमा रकम पाइँदैन ।’
पहिले–पहिले उद्योगले समयमै भुक्तानी दिने, नजिकै तौल केन्द्र स्थापना गरी तौलने र लैजाने गर्थ्यो । तर सात वर्षयता उद्योगले किसानलाई विभिन्न बहाना बनाएर भुक्तानीमा आनाकानी गर्नुका साथै सस्तोमा उखु खरिद गर्ने गरेका छन् । बर्सेनि उधारोमा बेच्नुपर्ने भएपछि केही किसान वैकल्पिक खेतीमा पनि लागेका छन् । कतिले उखुको सट्टा केराखेती थालेका छन् । तर भारतबाट सस्तोमा केरा आउन थालेपछि उनीहरू वैकल्पिक खेतीबाट पनि सन्तुष्ट छैनन् ।
जिल्लामा ७ हजार ५ सय हेक्टर क्षेत्रफमा उखु खेती हुँदै आएको छ जसबाट करिब २० लाख क्विन्टल उखु उत्पादन हुने अनुमान छ । जिल्लामा इन्दिरा सुगर इन्डस्ट्रिज, वाग्मती खाडसारी र लुम्बिनी चिनी मिल गरी तीनवटा ठूला उद्योग सञ्चालनमा छन् । त्यस्तै भेली बनाउने क्रसर एक सयभन्दा बढी छन् ।