अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी थालेको छ । अहिले २ जना व्यापारी सम्पर्कमा आएका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाइने भएको छ । होटल सञ्चालक लिलाबल्लभ पराजुलीकाअनुसार उनीहरुमध्ये असोज २० गते २ जना आएर कोठा लिएर बस्न थालेका थिए । २२ गते ४ जना थपिएका थिए । हिजो आइतबार अरु ६ जना आएर थपिए । होटल सञ्चालकका अनुसार उनीहरुले आफूलाई मह व्यापारीका रुपमा चिनाएका थिए । उनीहरु दिउँसो मह बेच्न जाने र बेलुका फर्किने गरेका छन् । होटलका अनुसार यसअघि २०७६ को पुष-माघ महिनामा आएर व्यापार गरेर फर्केका थिए । होटलमा उनीहरुको नाम थर भएको कुनै विवरण छैन । सञ्चालक भन्छन्-‘पहिले पनि आउने जाने गरेकाले परिचय पत्र खोजेनौं ।
उनीहरु महोत्तरीतिरका हुन् ।’ अनुगमन टोलीको नेतृत्व गरेका महानगरको कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीकाअनुसार महको चाका मैदाको हुन सक्छ । ‘अन्य रसायन के के प्रयोग गरेका छन्, अध्ययन हुँदैछ,’ उनले भने । अनुगमन टोलीले होटलका ३ वटा कोठामा भएका सामान बटुलेर एउटै कोठामा ताला लगाएको छ । त्यहाँ ९ किलो १८६ ग्रामका २८ पोका सामान र १३ टिन माहुरीको चाका छ । यस्तै अन्य सानातिना धेरै पोका छन् । उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सेना भन्छन्,’यो सक्कली मह हुँदै होइन । लेवलबिनाका सामान बेच्नु सरासर गैरकानूनी हो ।’ होटलका कर्मचारीले एउटा पोको खोलेर देखाए । त्यहाँ भएको बाक्लो र च्याप-च्याप हुने तरल पदार्थमा चाका डुवाइएको थियो । नक्कली मह कारोवार सम्बन्धी थप अनुसन्धान भइरहेको महानगरपालिकाले जनाएको छ ।
होटलमा बसेर नक्कली महको धन्दा