बुटवलमा कोरोना संक्रमित ३ जनाको मृत्यू भएको छ । उपचारका क्रममा अस्पतालको सम्पर्कमा आएका ३ जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालले दिएको जानकारी अनुसार बुटवल ११ का ८४ वर्षीय पुरुषको रुपन्देहीको कुनै पनि अस्पतालमा आईसीयू बेड खाली नभएका कारण दाङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।
शनिबार स्वास्थ्यमा समस्या देखिएर लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनको शनिबार नै कोरोना पुष्टि भएको थियो ।
बिरामीको अवस्था जटिल रहेकाले ल्म्बिनी अस्पतालले आईसीयू अनिवार्य भएपछि दाङ रेफर गरेकोमा धानखोला पुग्दा उनको मृत्यु भएको थियो ।
त्यसैगरी गत २२ असोजमा कोरोना पुष्टि भएर २४ गते देखि कोरोना विशेष अस्पतालमा भर्ना रहेका ७० वर्षीय पुरुषको शनिबारराति ९ः५५ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले जानकारी दिए । उनी गत २२ असोजमा कोरोना विशेष अस्पतालमा उपचार गराईरहेका थिए ।
बुटवलमा मध्यराति २ बजे बुटवल ११ की ६१ वर्षीया महिलाको पनि मृत्यु भएको छ । गत २१ असोजमा कोरोना पुष्टि भएर कोरोना विशेष अस्पतालमा भर्ना भएकी ६१ वर्षीया महिलाको मध्यराति २ बजे मृत्यु भएको डा.गौतमले बताए ।
गएराति भएको मृत्युसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।