मनोज कुर्मी, रुपन्देही । विगत २ दिनदेखि भईरहेकाे अविरल वर्षाका कारण रुपन्देही जिल्ला प्रभावित बनेको छ ।
रुपन्देहीको रोहिणी गाउँपालिका, ओमसतिया गाउँपालिका तथा मर्चवारी गाउँपालिका, तिलोत्तमा नगरपालिका लगायत जिल्लाका अधिकांश ग्रामिण क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जीवन कष्टकर बन्न पुगेको छ ।
लगातर भइरहेको वर्षाका कारण धकधई, सेमरपानि, करुवानी, पिपराहिया, पोखरभिण्डि, बसन्तपुर, गोनहा, बगौलि लगायतका पुर्वी तथा दक्षिणी मर्चवार भेगमा किसानहरुले लगाएकाे धानबालीमा ठुलो क्षति भएको छ ।
पाक्नै लागेका धानबाली हावासहितको अविरल वर्षाका कारण खेतमा ढलेर सड्ने सम्भावना देखिन्छ भने अन्य बालीनालीहरुलाई पनि उतिकै क्षति पुर्याएको कारण किसानहरु चिन्तित बनेका छन् । अहिले खेतमा तेलहन बाली, दलहन बाली र तरकारी लगाउने उपयुक्त समय हो तर यो वर्षाले गर्दा यी बालीहरु समयमा लगाउन नसकिने हुँदा केही समय पछि पर्ने कारण उत्पादन घट्ने ठुलो सम्भावना रहेको एक कृषकले बताए ।
त्यस्तै वर्षाका कारण आफुहरुले लगाएका हरियो तरकारीले बजारमा बिक्री गर्न नसक्दा खेतमै कुहिन लागेको लोधपुरवा, सिक्टहन र पर्सोत्तमपुरका किसानले बताए । एकातिर अविरल वर्षाले किसानहरुलाई प्रभाव पारेको छ भने अर्कोतिर उपभोक्ताहरुलाई पनि उत्तिकै प्रभाव पारेको देखिन्छ ।
केही दिनअघि आलु, प्याज तथा हरियो तरकारीको मुल्य अलि सामान्य भएतापनि लगातारको वर्षाका कारण मूल्य झनै अकासिएको छ । तरकारी खेती गर्ने किसानहरुले उचित मूल्य नपाएतापनि तरकारी व्यापारीहरुले कृषकहरुबाट सस्तो मूल्यमा तरकारी खरिद गरी चर्को मूल्यमा बिक्री गरेको र उपभोक्ताहरुलाई अन्य कुनै विकल्प नरहेको कारण चर्को मूल्यमा पनि तरकारी खरिद गर्न बाध्य रहेको कृषि अनुसन्धान विश्लेषकहरुको तर्क छ ।
